३ कार्तिक २०८३, मंगलबार

नेपाल टेलिकमले भोलिदेखि निःशुल्क ई–सिम वितरण गर्ने, के हो ई–सिम ?

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । नेपाल टेलिकमले भोलिदेखि निःशुल्क ई–सिम वितरण गर्ने भएको छ ।

सुन्धारास्थित दूरसञ्चार कार्यालयको काउन्टरबाट कम्पनीका ग्राहकलाई निःशुल्क एम्बेडेड सिम (ई–सिम) वितरण गर्न लागिएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

उनका अनुसार ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने छन् । हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ ।

त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने प्रवक्ता अधिकारीको भनाइ छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ ।

के हो ई–सिम ?

ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक (एम्बेडेड) सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

ई–सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस (वेरबेल डिभाइस) हरूमा समेत प्रयोग गर्न सकिन्छ ।

हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोग गर्न सक्नेछन् भने नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले ई–सिम लिन सक्ने छन् ।