
चितवन, ३० भदौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य यमबहादुर परियार ‘इन्द्रजीत’ नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा माओवादीको जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका नेता परियार नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् चितवन जिल्लाका पूर्वअध्यक्ष परियार एमालेमा प्रवेश गर्दा चितवन माओवादीलाई ठूलै धक्का पुगेको छ ।
च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परियारलाई एमालेमा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् । परियार माओवादी केन्द्र चितवनको जिल्ला सह–इन्चार्जसमेत हुन् ।
परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन तिमल्सिनालगायत अन्य नेताहरु पनि एमालेमा प्रवेश गरेका छन् ।
यसैबीच सोही अवसरमा नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानका भाइ राजेन्द्र प्रधान पनि नेकपा एमालेमा प्रवेश गरेका छन् ।
राजेन्द्र प्रधान यसअघि एमालेकै नेता थिए । २०५० सालमा एमालेको विदेश विभाग सदस्य समेत बनेका प्रधान झलनाथ खनालको नेतृत्वकालमा कांग्रेसमा गएका थिए । नेता खनालले आफूलाई अपमान गरेको भन्दै एमाले छोडेका प्रधान आम निर्वाचनको मुखमा एमालेमै फर्किएका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य जेएन थपलिया, देवी ज्ञवालीलगायत सहभागी थिए ।















प्रतिक्रिया