२९ आश्विन २०८३, बिहिबार

अफगानिस्तानमा महिलाको हत्या गर्ने चार व्यक्तिलाई मृत्युदण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fasiकाबुल (अफगानिस्तान), २४ वैशाख । अफगानिस्तानको काबुलमा मार्च महिनामा एक भीडले एक महिलाको क्रूर हत्या गरेकोमा बुधबार एक अदालतले चार व्यक्तिलाई मृत्युदण्डको सजाय तोकेको छ । ती महिलाको हत्याले मुलुकलाई स्तब्ध पारेको थियो भने महिलाको समानताको अधिकार सुनिश्चित गर्न तथा उनीहरूलाई हिंसाबाट जोगाउन अधिकारीलाई आह्वान गरिएको थियो ।

मार्च १९ का दिन २७ वर्षीया महिला फार्खुन्दाले कुरानको पति जलाएको आरोप लगाउँदै उनलाई क्रुद्ध भीडले कुटेर मारेको थियो । यसका लागि १९ प्रहरी अधिकारीका साथमा ४९ व्यक्तिमाथि आरोप लगाइएको थियो ।

यस विषयमा शनिबार सुनुवाइ आरम्भ भएको थियो र दुई दिनमै उक्त निर्णय दिइएको छ । अफगानिस्तानको न्याय प्रणाली ढिलो मानिन्छ र यो निर्णय निकै छिटो आएको बताइन्छ । अदालती सुनुवाइलाई राष्ट्रिय टेलिभिजनमा सार्वजनिक गरिएको थियो र त्यसमा सार्वजनिक अभिरुचि ठूलो भएको बताइएको छ ।

न्यायाधीश साफियुल्लाह मोजादेदीले अफगानिस्तानको काबुल प्रारम्भिक अदालतमा बुधबार ती चार व्यक्तिलाई मुत्युदण्डको निर्णय सुनाउनुभएको हो । उहाँले आठ प्रतिवादीलाई १६ वर्षको कारवासको सजाय सुनाउनुभयो र १८ व्यक्तिमाथि लगाइएको आरोप हटाउनुभयो ।

न्यायाधीश मोजादेदीले १९ प्रहरीमाथि शनिबार निर्णय गर्नुहुनेछ र त्यसको घोषणा आइतबार सुनाइनेछ ।

प्रतिवादीहरूलाई यस मुद्दामा पुनरावेदनको अधिकार छ । उनीहरूमाथि आक्रमण, हत्या, उक्साहटको आरोप लगाइएको थियो । प्रहरीमाथि आफ्नो कर्तव्य पालना नगरेको र आक्रमण रोक्न असफल भएको आरोप लगाइएको छ ।

मृत्युदण्ड पाउनेमा फार्खुन्दाले कुरान जलाएको आरोप लगाउने व्यक्ति परेका छन् । यसै गरी फार्खुन्दामाथि दुई ठूलो ढुङ्गा हान्ने, उनीमाथि गाडी चलाउने चालक तथा उनको शरीरमा आगो लगाउने व्यक्तिलाई पनि मृत्युदण्डको निर्णय सुनाइएको छ ।

फार्खुन्दाका भाइ मुजिबुल्लाहले अदालतले बहुसङ्ख्यक प्रतिवादीप्रति दया देखाएको भनी आफ्नो परिवार क्रुद्ध भएको बताए । फार्खुन्दाको हत्याले अफगानिस्तानमा धेरैलाई स्तब्ध बनाएको थियो । यस विषयमा राष्ट्रपतीय अनुसन्धानमा उनले मुसलमानको धार्मिक ग्रन्ध नष्ट नगरेको देखिएको थियो ।

फार्खुन्दाको हत्याको घटना मोबाइल फोनमा रेकर्ड गरिएको थियो र त्यसलाई सामाजिक सञ्जालमा राखिएको थियो । यो भिडियोमा प्रहरी केही नगरिकन उभिएका केही प्रहरी अक्रमणमा सरिक भएका देखाइएको छ । फार्खुन्दाका परिवारले अदालतलाई आरोपितलाई कानुन अनुसार दण्ड दिन आग्रह गरेका थिए । रासस/एपी