२८ आश्विन २०८३, बुधबार

चितवनमा ‘स्मार्ट स्वीच’ उत्पादन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

चितवन, २६ भदौ । चितवनमा ‘स्मार्ट स्वीच’ उत्पादन

युवाहरूले चितवनमा विद्युत्को ‘डिजिटल स्मार्ट स्वीच’ प्रविधिको उत्पादन सुरुआत गरेका छन् ।

नवलपुरको गैँडाकोटमा अवस्थित अक्स्फोर्ड कलेजबाट बीई इलेक्ट्रिकल इञ्जीनियरिङ पढेका तीन युवाले विद्युत्को डिजिटल स्मार्ट स्वीच बोर्डको उत्पादन सुरु गरेका हुन् ।

स्वीचलाई विभिन्न तीनवटा माध्यमबाट नियन्त्रण गर्न सकिने गरी प्रविधि विकास गरिएको सञ्चालक जीवन दबाडीले बताए ।

डिजिटल स्मार्ट स्वीचलाई औँलाले छोएर, रिमोर्टबाट तथा मोबाइल एप्समार्फत विद्युतीय उपकरणको सञ्चालन तथा बन्द गर्न सकिने उनको भनाइ छ ।

एडभान्सटेक इन्डस्ट्रिज प्रालिमार्फत ती युवाले डिजिटल स्मार्ट स्वीच बोर्डको ‘डिजाइन तथा सफ्टवेयर’को विकास गरेका हुन् ।

भरतपुर–१६ मोहनपुरमा जग्गा भाडामा लिएर २८ लगानीकर्ताको रु १० करोडभन्दा बढी लगानीमा डिजिटल स्मार्ट स्वीच बोर्डको उद्योग सञ्चालन गरिएको उद्योगका अध्यक्ष सुनीलकुमार यादवले बताए ।

अहिले उद्योगले घरायसी प्रयोजनका लागि डिजिटल स्मार्ट स्वीच बोर्डको उत्पादन गरेको भए पनि चाँडै नै उद्योग तथा व्यवसायसहित सम्पूर्ण स्थानमा प्रयोग हुने गरी उत्पादन थालिने उनको भनाइ छ ।

उद्योगको अहिले दैनिक दुई हजार पाँच सय डिजिटल स्मार्ट स्वीच बोर्डको उत्पादन गर्ने क्षमता रहेको जनाउँदै उनले जनशक्ति थप गरेर उत्पादनसमेत वृद्धि गरिने जानकारी दिए । –रासस