३ कार्तिक २०८३, मंगलबार

कांग्रेसको बेहाल देखेर रामवरण यादव दिक्क ! चुनावी टिकट बिक्री भएको गुनासो

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ काठमाडौं । नेपाली कांग्रेसको राजनीति गरेर राष्ट्रपतिसम्म भएका डा. रामवरण यादव यतिबेला कांग्रेसको बेहाल देखेर दिक्क छन् ।

कांग्रेसले जनताको बीचमा जान अंशबण्डा गरिरहेकोमा यादवले चिन्ता व्यक्त गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित बीपी साहित्य सम्मान एवं बीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहमा यादवले गठबन्धनमा सिटको बाँडफाँटलाई अंशबण्डाको संज्ञा दिएका छन् ।

कांग्रेसको अहिलेको अवस्था हेर्दा रामराम भन्नु शिवाय अरु केही बाँकी नरहेको उनले बताए । यादवले भने, ‘कांग्रेसी त्यस्तो पूर्खा भएर पनि अहिले अंशबण्डा गरिरहेका छौं हामी । जनताको बीचमा जान पनि अरु पार्टीसँग मिलेर अंशबण्डा गरिरहेको छ । राम, राम, राम । कांग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ ।’

बीपीका राजनीतिक चिन्तनहरु अध्ययन गर्ने फुर्सद कुनै राजनीतिक कार्यकर्ता र नेतालाई नरहेको बताउँदै उनले टिकट किनेर पार्टीमा प्रवेश गर्ने प्रवृत्ति देखिएको बताए । उनले भने, ‘कांग्रेस पार्टीमा रहेर पसिना बगाउनेभन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको छ ।’

समानुपातिकबाट सांसद बन्न टिकट बिक्रीको चलखेल हुने गरेको यादवले खुलासा गरे । उनले स्थानीय निर्वाचनमा वडा र पालिकाहरुमा टिकट बिक्री गरिएको आरोप लगाउँदै पार्टीमा विधि र आदर्शको पालना एवं सम्मान हुन छाडेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

‘कांग्रेस पैसामा टिकट बेचिरहेको छ । सुन्नुभएको होला तपाईंहरुले समानुपातिकमा टिकट बिक्री भएको छ । वडाको टिकट बिक्री भएको छ । पालिकाको टिकट बिक्री भएको छ । अहिले विधिको बारेमा चर्चा गरिराख्नुपर्ने, आदर्शको बारेमा कुरा गर्नै छोडिसके,’ उनले भनेका छन् ।