३ कार्तिक २०८३, मंगलबार

प्रेम आलेविरुद्ध कांग्रेसभित्र चर्को मोर्चाबन्दी, के गर्लान् प्रधानमन्त्री देउवा ?

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । नेकपा एमाले विभाजन गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सशक्त भूमिका खेलेका पात्र हुन् पूर्वमन्त्री प्रेमबहादुर आले ।

देउवालाई प्रधानमन्त्री बनाउन भूमिका खेलेकै कारण उनी मन्त्री समेत बन्न पाए । तर आसन्न चुनाव प्रेम आलेका लागि सहज हुने देखिँदैन ।

आले आसन्न चुनावमा डोटी जिल्लाबाट गठबन्धनको उम्मेदवार बनेर फेरि सांसद बन्न चाहन्छन् । त्यसमा नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता बाधक बन्ने देखिएको छ ।

नेपाली कांग्रेस डोटी जिल्ला कार्यसमितिले डोटीमा कांग्रेस एक्लै चुनाव लड्ने र कसैसँग गठबन्धन नगर्ने निर्णय गरिसकेको छ । डोटी कांग्रेसका प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरको गृहजिल्ला हो । त्यहाँबाट बलायर प्रत्यक्ष चुनाव लड्न चाहन्छन् । गत निर्वाचनमा बलायर आलेसँग पराजित भएका थिए ।

जिल्ला कार्यसमिति र प्रभावशाली नेता बलायर मात्रै होइन, आलेलाई रोक्न कांग्रेसका अरु नेता, कार्यकर्ता समेत सक्रिय भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनगढी उपमहानगरपालिकाका निवर्तमान मेयर नृपबहादुर वडले पनि डोटीमा गठबन्धन गर्न नहुने बताएका छन् ।

डोटीको शिखर नगरपालिकामा आयोजित कार्यक्रममा वडले डोटेली नेता, कार्यकर्ताले गठबन्धन नचाहेको भन्दै सभापति देउवासँग कुरा गर्ने बताए ।

वडले अगाडि भने, ‘आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनमा डोटीमा गठबन्धन गर्न नहुने भनेर केन्द्रीय पार्टी सभापति शेरबहादुर देउवासँग कुरा गर्छु,’ वडले भने, ‘नेता, कार्यकर्ताको भावनाविपरीत गठबन्धन गरे पार्टी गम्भीर मोडमा जानेछ ।’

नेकपा एकीकृत समाजवादीले भने प्रेम आलेका लागि डोटी जिल्लाको प्रतिनिधिसभा क्षेत्र आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । केन्द्रमा बनेको सत्तारुढ गठबन्धनको कार्यदलमा सिट बाँडफाँट गर्दा डोटी जिल्ला समेत विवादित रहेको छ ।

नेपाली कांग्रेस डोटी जिल्ला कार्यसमितिका सचिव गणेश खड्काले डोटीमा कांग्रेस एक्लैले चुनाव लड्ने निर्णय भएको जानकारी दिए । ‘डोटीमा गठबन्धनको कुनै आवश्यकता र औचित्य छैन, हामी एक्लै लड्छौं,’ सचिव खड्काले भने ।

डोटीमा नेकपा माओवादी केन्द्रका नेता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि चुनाव लड्न खोजेका छन् । मुख्यमन्त्री भट्टले पनि प्रतिनिधिसभा चुनाव लड्न खोजेकाले गठबन्धनभित्रै किचलो बढ्ने देखिएको छ । डोटीमा टिकटका लागि नै गठबन्धनभित्र बयालर, आले र भट्टबीच प्रतिस्पर्धा देखिएको छ ।