
काठमाडौं, २३ भदौ । बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–५ घर भएका काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने २९ वर्षीय पुरूषोतम अधिकारी र चन्द्रागिरी नगरपालिका–८ गौंथलीचोक बस्ने २७ वर्षीय नवीन केसी छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पुरूषोतमलाई काठमाडौं गोंगबुबाट र नवीनलाई काठमाडौं महानगरपालिका–११ थापाथलीबाट बुधबार पक्राउ गरेको हो ।
पुरूषोतम बैंकिङ कसूर मुद्दामा ४० लाख रुपैयाँ विगो ठहर भई फरार रहेका थिए । साथै नवीन बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ जेठ २४ गतेको फैसलाले ५ दिन कैद, ५ लाख २५ हजार जरीवाना र २१ हजार रूपैयाँ क्षतिपूर्ती ठहर भई फरार रहेका थिए ।
पुरूषोतमलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ भने नवीनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुरमा पठाइएको छ ।















प्रतिक्रिया