काठमाडौं, २४ वैशाख । ललितपुर लुभु निवासी सुवर्ण श्रेष्ठ र कुसुन्ती कि सुनिता थापाले आफ्नो व्यक्तिगत खर्चमा महाभूकम्प पीडितलाई राहत सहयोग गरेका छन् । दोलखाको सुरी गाविस–८ स्थित मुलावारी, सुम्ना र निवारु टोलका महाभूकम्प पीडितलाई व्यवसायी श्रेष्ठ र खेलाडी थापाले त्रिपालसहित राहत सामाग्री बितरण गरेका हुन् ।
आफ्नो व्यक्तिगत खर्चमा ४७ थान त्रिपालसहित चामल, दाल, नुन र कम्बल बोकेर श्रेष्ठ र थापा गत सोमबार सुरी गाविस पुगेका थिए । महाभूकम्पबाट घर भत्किएर खुला आकाशमुनी आश्रय लिन बाध्य सुरी–८ का बासिन्दालाई उनीहरुले अवस्था हेरी त्रिपाल बितरण गरेका थिए । अन्य खाद्यान्न भने स्थानीय युवा र बृद्धको रोहवरमा सबैले दामासाहीले बाँडेर लिने गरी एकमुष्ट हस्तान्तरण गरेका छन् ।
दोलखाको सुरीमा ब्यक्तिगत तहमा राहत बितरण गर्ने श्रेष्ठ र थापा पहिलो हुन् । यसअघि सो वडामा स्थानीयबासी खुला आकाशमुनी आश्रय लिइरहेका थिए । सुरी गाविसमै पुगेर राहत बितरण गर्ने श्रेष्ठ प्रगतिशील बैदेशिक रोजगार व्यवसायी मञ्चकी उपाध्यक्ष हुन् । श्रेष्ठलाई साथ दिने थापा भने रेस्लिङ खेलकी रेफ्री हुन् । उनीहरुले सरकारी तहबाट राहत नपाएको स्थान छनोट गर्दा सुरी गाविस रोजेका थिए ।

काठमाडौंबाट यति टाढाको दुरीमा आफै पुगेर उनीहरुले स्थानीयबासीलाई राहत हस्तान्तरण गरेका थिए । मनकारी श्रेष्ठ र थापालाई रितु राणा, सुनिलशमशेर राणा र निश्चल चापागाईले सहयोग गरेका थिए । राजधानी दैनिकका समाचार सम्पादक तथा प्रेस चौतारी नेपालका सल्लाहकार गणेश बस्नेतको आग्रहमा श्रेष्ठ र थापा राहत बितरणका लागि सुरी गाविस–९ भोर्लेसम्म पुगेका थिए ।
स्थानीयबासीकै सुझावअनुसार उनीहरुले आवश्यकताका आधारमा त्रिपाल बितरण गरेका थिए । दुर्गम गाविसमा सरकारी राहतसमेत पुग्न ढिलाई भइरहेकोले त्यत्ति टाढासम्म पुगेर राहत बितरण गरी पीडितको घाउमा मलम लगाउने कोशिस गरेको श्रेष्ठ र थापाले बताएका छन् ।
















प्रतिक्रिया