३ कार्तिक २०८३, मंगलबार

‘राजेन्द्र लिङ्देन सदनको ‘बोझ’ थिए, राजीनामा दिएर हलुका महशुस गराइदिए’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङ्देनलाई ‘सदनको बोझ’का रुपमा चित्रण गर्दै राजीनामा दिएर हलुका बनाएको बताएका छन् ।

आजको संसद बैठकमा सांसद महतले प्रतिनिधि सभा बैठकमा नआउने र तलब भत्ता नलिने घोषणा गरेका राप्रपाका सांसद राजेन्द्र लिङ्देनलाई व्यङ्ग्य गर्दै ‘सदनको बोझ’को संज्ञा दिएका हुन् ।

‘आफूलाई अब्बल, राष्ट्रवादी र इमान्दार ठान्ने, संसदमा आक्कलझुक्कल आउने, आउँदा पनि राजा महाराजा आएको झल्को देखाउने, सदनको भूमिकामा चासो नै नराख्ने, पहिले नै राजीनामा दिनुपर्ने मान्छे, साँचो अर्थमा भन्दा सदनका लागि बोझजस्ता देखिने माननीयज्यूले राजीनामा दिएर हल्का महशुस गराइदिएकोमा उहाँलाई धन्यवादु,’ महतले अगाडि भने, ‘पुनः सांसद भएर आइहालेमा उहाँको भूमिका के हुने त्यो हेर्न बाँकी नै छ ।’

राप्रपाका एकमात्र सांसद लिङ्देनले आइतबार प्रतिनिधि सभा बैठकमा अबदेखि उपस्थित नहुने र तलब भत्ता पनि नलिने घोषणा गरेका थिए । प्रतिनिधिसभाको आयु बढाउने गठबन्धन सरकारको कार्यशैलीप्रति असहमत प्रकट गर्दै उनले त्यस्तो घोषणा गरेका हुन् ।