
काठमाडौं, २१ भदौ । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि सिफारिस भएका उम्मेदवारको नामसँगै आवश्यक विवरण पनि पठाउन आग्रह गरेको छ ।
उम्मेदवारका रूपमा नाम सिफारिस भएका व्यक्तिहरूको नाम पार्टी केन्द्रीय कार्यालयमा पठाउँदा निर्वाचन आयोगको अनुसूची १४ र १७ बमोजिमको मञ्जुरीनामामा हस्ताक्षर गर्नुपर्ने भएकाले सम्बन्धित कमिटीले उक्त अनुसूचीका साथै देहायबमोजिमको विवरण अनिवार्यरूपमा संलग्न गरी पठाउन पार्टीको केन्द्रीय कार्यालयले आग्रह गरेका हो ।
एमालेले सिफारिस नामसँगै सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्र, सम्पत्ति विवरण फारामलगायत विवरण सिलबन्दी गरेर पठाउन सम्बन्धित कमिटीहरूलाई आग्रह गरेको छ ।
उक्त विवरणमा मतदाता नामावलीमा नाम भएको विवरण जस्तै, मतदाता क्रम संख्या, वडा नम्बर, गाउँ तथा नगरपालिका, प्रदेश र जिल्ला उल्लेख गर्नुपर्ने छ ।
एमालेको केन्द्रीय कमिटीको चौथो बैठकले भोलि भदौ २२ गतेसम्म उम्मेदवारहरूको नाम सिफारिस गरी पठाउनुपर्ने निर्णय गरेको छ ।















प्रतिक्रिया