
काठमाडौं, २० भदौ । सत्तारुढ गठबन्धनका दलहरुलाई सिट बाँडफाँडका लागि बनाइएको कार्यदलको बैठक बस्ने भएको छ ।
बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । सिट बाँड्ने विषय निकै पेचिलो बनेको छ । निरन्तर बैठक बसिरहँदा पनि गठबन्धनका दलहरुबीच भागवण्डा मिल्न सकेको छैन । दलहरु आआफ्नै स्वार्थ र सिट संख्याको अडानमा रहँदा विषय टुंगिन नसकेको हो । निर्वाचन निजिकिँदै गर्दा राजनीतिक मुद्दा होइन केवल भागवण्डा दलहरुको प्राथमिकतामा परेको छ ।
आइतबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँडका विषयमा औपचारिक खाका ल्याउन कार्यदललाई भनेको सञ्चारमन्त्री एवम् सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
हालसम्म ठोस मापदण्ड पनि बन्न सकेको छैन ।
अब कार्यदलले सहमतिबाट पेस गरेको मापदण्डका आधारमा शीर्ष नेताहरुले अनितम टुंगो लगाउनेछन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा सिट बाँड्फाँडको विषयमा आफूहरु पनि लचिलो हुन र अरु दललाई पनि लचिलो बन्न आग्रह गर्ने बताएका छन् । आफ्नो पार्टीको आन्तरिक छलफलमा देउवाले यस्तो बताइसकेका छन् ।
यही साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
यद्यपि कार्यदलले हालसम्म कुनै ठोस निष्कष भने दिन सकेको छैन ।













प्रतिक्रिया