
भक्तपुर, १९ भदौ । विद्यार्थीहरूलाई गरेर सिक्ने वातावरण सिर्जना गर्नका लागि वागीश्वरी कलेजको पत्रकारिता तथा आमसञ्चार विभागले दुई हप्ते अन्तर्राष्ट्रिय मिडिया विषयक कार्यशाला गोष्ठी शुरू गरेको छ ।
विद्यार्थीहरूले विभिन्न मुलुकको पत्रकारिता इतिहास, कानुनी व्यवस्था र आचारसंहिताको खोजी गर्दै गोष्ठीमा आफ्नो कार्यपत्र प्रस्तुत गरी अध्येता र विज्ञहरूमार्फत टिप्पणी गराई कार्यपत्रलाई कसिलो बनाउने गरी गोष्ठी गरिएको हो । गोष्ठीको उद्घाटन गर्दैै बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसार्ईले कार्यपत्र प्रस्तुतिले विद्यार्थीमा थप सिक्ने वातावरण निर्माण हुने बताए ।
आइतबार विद्यार्थी एलिना भेलेले उत्तर कोरियाको मिडिया विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उत्तर कोरियाबारे पश्चिमी मुलुकका मिडियाहरूले अनर्गल ढङ्गको प्रचार गर्ने गरेको र आफूले खोज्दा पनि त्यस्तै कुराहरू बढी भेटेको र वास्तवमा उत्तर कोरियामा प्रचार गरिएजस्तो तानाशाही नभएको स्पष्ट पारिन् ।
कार्यपत्रमाथि टिप्पणी गर्दै सांसद सुरेन्द्रराज गोसाईंले आफूले उत्तर कोरियाको भ्रमण गर्दा नितान्त बेग्लै ढङ्गले पाएको अनुभव सुनाए । कोरियामा इन्टरनेटको सुविधा व्यापक रूपमा रहेको र विज्ञान तथा प्रविधिको विकास अद्भुत ढङ्गले भएको उनको भनाइ छ ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरूको ज्ञान अभिवृद्धिका लागि कलेजले वातावरण निर्माण गर्ने गरेको र अन्तर्राष्ट्रिय परिस्थिति बुझ्न बुझाउन यस्ता कार्यक्रम गर्ने वागीश्वरीको संस्कार रहेको बताए ।
पत्रकारिता तथा आमसञ्चारका शिक्षक पूर्णभक्त दुवालले दुई हप्ते गोष्ठीमा विद्यार्थीहरूले विभिन्न मुलुकको मिडियाबारे अध्ययन गरी कार्यपत्र प्रस्तुत गरी विज्ञहरूको सल्लाह र सुझाव अनुसार परिमार्जन गर्ने जानकारी दिए ।
आइतबारको कार्यपत्रमा विद्यार्थीहरूले कार्यपत्र प्रस्तोता र विज्ञहरूस“ग प्रश्न सोध्दै जिज्ञासा मेटेका थिए ।















प्रतिक्रिया