
मेलबर्न (अष्ट्रेलिया), १२ भदौ । नेपालको यौन तथा घरेलु हिंसा पीडितलाई सहयोग गर्न अष्ट्रेलियाको मेलबर्नमा तीज कार्यक्रम आयोजना गरिएको छ ।
यहाँस्थित दिदी–बहिनी समाज भिक्टोरियाले अस्ट्रेलियाकी शिक्षा तथा महिलामन्त्री नातालिय हटचिन्सको प्रमुख आतिथ्यतामा उक्त तीज कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा करिबब ७०० जना नेपालीको उपस्थिति रहेको थियो ।

समाजले विगत ६ वर्षदेखि तीज कार्यक्रमबाट यसरी सङ्कलन गरेको रकम नेपालको मध्यपश्चिम क्षेत्रका यौन तथा घरेलु हिंसामा परेका महिलाहरुको सहयोगका लागि पठाउने गरेको छ । यसरी हालसम्म १६ हजार डलर पठाइ ११० जनालाई सहयोग गरिसकेको समाजले जनाएको छ ।
समाजले प्रदान गर्ने आर्थिक सहयोग छोटो समयको बसाइ, आवश्यक औषधोपचार, कानूनी सुझाव, काउन्सिलिङ, पारिवारिक र सामाजिक मध्यस्तता प्रकृया र तालिममा प्रयोग गरिन्छ । यो सहयोगका कारण महिलाहरुको बिग्रदो स्वास्थ्य र जीवनलाई उनीहरुको आत्मविश्वास र क्षमता अभिवृद्धिमार्फत सामान्यीकरण गर्न सहयोग पुर्याएको बताइएको छ ।

सांसद कौशल्या भागेला, मोरल्यान्ड सिटी काउन्सिलका मेयर मार्क रिले, एनआरएन भिक्टोरियाका संयोजक हरी खड्काद्वारा समेत मन्तव्य व्यक्त गरिएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष डा. जमुना पराजुलीद्वरा स्वागत मन्तब्य व्यक्त गरिएको थियो ।
कार्यक्रममा सहभागी हुन धेरै टाँढा टाँढाबाट समेत सोचिए भन्दा अत्यन्तै धेरैको आगमन भए पनि सुरक्षाका कारण सुरक्षाकर्मीहरुद्वारा सबैलाई कार्यक्रम हलमा प्रवेश गर्न नदिएकाले कार्यक्रममा सहभागी हुन नपाई फर्कन परेको आगन्तुप्रति आयोजकले क्षमायाचना समेत गरेको छ ।

संस्थाकी उपाध्यक्ष प्रभा देवी श्रेष्ठको संयोजनकारी र अन्जु अधिकारी र गीता नायक क्षेत्रीको सह–संयोजनकारी भूमिका रहेको र अन्जु, जुलिय, कमला र सपनाद्धारा उदघोषित उक्त कार्यक्रममा दिदी–बहिनी समाज ब्रिमब्यांक, वेष्ट, आइन्ट्री, इस्ट, बेन्डिगो, लालोर, एपिङ, थोमसटाउन, जिलोङ, ग्लेनरोइ, क्रेगिबर्न, मरान्डा युनिटहरुले समूहगत रुपमा छुट्टाछुट्टै तीज नाच प्रदर्शन गरेका थिए ।













प्रतिक्रिया