२९ आश्विन २०८३, बिहिबार

चिनियाँ अदालतको फैसलासँगै बैंक अफ काठमाण्डूले पायो मेलम्ची आयोजना ग्यारेन्टीबापतको एक अर्ब

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । बैंक अफ काठमाण्डुले मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको ग्यारेन्टीबापतको रकम प्राप्त गरेको छ ।

चीनको हेनान प्रान्तस्थित पिपुल्स् इन्टरमिडिएट कोर्ट तथा हेनान पिपुल्स् उच्च अदालतमा आयोजनाको ग्यारेन्टीबापतको रकम फिर्ता गर्नुपर्ने विषयमा चलेको मुद्दामा २०२२ जुलाई २५ मा बैंकको पक्षमा फैसला भएको थियो ।

जसअनुसार बैंकबाट मेलम्ची खानेपानी आयोजनालाई जारी गरेको एड्भान्स पेमेन्ट ग्यारेन्टीबापतको भुक्तानी रकम करिब एक अर्ब रुपैयाँ (अमेरिकन डलर ६,६२५,०१० र युरो १,४११,४५३) बैंक अफ काठमाण्डूलाई मंगलबार फिर्ता आएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले जानकारी दिए ।

आयोजनाको ठेक्का पाएको चाइना रेल्वेका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू लिमिटेडलाई काउन्टर ग्यारेन्टी दिएको थियो ।

तर, मेलम्ची खानेपानी आयोजना विकास समिति र ठेकेदार कम्पनी चाइना रेलवे समुह–१५ बीच भएको विवादको कारण उक्त बैंक ग्यारेण्टी भुक्तानी रोक्न चाइनिज अदालतमा परेको मुद्दाबाट अन्तरिम आदेश जारी भई चाइना कन्सट्रक्शन बैंकबाट यस बैंकले पाउनु पर्ने भुक्तानी रकम प्राप्त नभएकोले अन्तर्राष्ट्रिय अभ्यास र ग्यारेण्टीको शर्तबन्देजहरुको पालन गरी भुक्तानी गर्न चीनकै अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

मेलम्ची खानेपानी आयोजनाको काम प्रारम्भ गर्ने सिलसिलामा आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समुहलाई उपलब्ध गराउने प्रायोजनको लागि मेलम्ची खानेपानी आयोजना हिताधिकारी हुनेगरी चाइना कन्स्ट्रक्सन बैंकको काउन्टर ग्यारेन्टीमा एड्भान्स पेमेन्ट ग्यारेन्टी जारी गरिएको थियो । आयोजनाको काम ठेकेदार कम्पनीले सम्झौता अनुरुप पुरा नगरी बिचमै छोडेको हुँदा मेलम्ची खानेपानी आयोजनाले उक्त ग्यारेन्टीे उपर दावी गरेकोले बैंक अफ काठमाण्डूबाट ग्यारेण्टी वापतको रकम भुक्तानी गरिएको थियो ।

रकम फिर्ता भएपछि बैंकले यस कार्यमा सहयोग गर्ने सम्पूर्ण धन्यवाद ज्ञापन गरेको छ ।