
अमेरिका, ७ भदौ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को फैलावट तास्मानियासम्म पुगेको छ ।
हालै अनेसास तास्मानिया च्याप्टर गठन भएपछि यो फैलावट भएको हो । नेपाली भाषा र साहित्यको सेवामा समर्पित अनेसासले तास्मानियामा रहेका साहित्यप्रेमी तथा लेखकहरुलाई एकै ठाउँ ल्याउने उद्देश्यसहित नयाँ च्याप्टरको गठन गरेको हो ।
नवगठित च्याप्टरको अध्यक्षमा प्रकाश पन्थी, उपाध्यक्षमा गायत्री पाण्डेय, सचिवमा सुरेन्द्र खरेल (सुबिन) र कोषाध्यक्षमा सरोज तामाङ तथा सदस्यहरूमा तोयाराज भट्टराई, विजय भट्टराई र अस्मिका श्रेष्ठलगायत छन् ।
लामो समयदेखि च्याप्टर गठनको प्रक्रिया अघि बढेको भए पनि २०२२ अगष्ट २० शनिवारबाट औपचारिक रुपमा सुरुवात भएको अनेसास उपाध्यक्ष (ओसिआनिया) महेश्वर शर्माले बताए ।
समितिले संगठन विस्तार पश्चात अनेसास तास्मानियाको पहिलो कार्यक्रमको रुपमा साहित्यकार सुबिन खरेलको पहिलो उपन्यास ‘फेरिएको माया’को विमोचन समेत गरेको छ । कार्यक्रममा उपन्यासकार खरेललाई बधाईँ दिँदै नवगठित समितलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।
१५ वर्ष नेपाल बसेका तास्मानियाका स्थानीय नागरिक जेनेट र केशब भट्टराईले पुस्तकको सयुंक्त रुपमा विमोचन गरेका थिए । उक्त अवसरमा नेपालबाट आएका अभिभावक रामप्रसाद चिमोरियाले शुभकामना तथा धन्यवाद मन्तव्य दिएका थिए ।
कार्यक्रममा अनेसासका अध्यक्ष प्रकाश पन्थीले संस्थाले गर्ने कामहरु र नेपाली साहित्यको प्रवर्धनमा गरिरहेका कार्यहरुका विषयमा प्रकाश पारेका थिए ।
च्याप्टर गठनको खुशीमा अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले शुभकामना सन्देश पठाएर सफलताको कामना गरेका थिए । उनले भनेका छन् ‘जहाँ रहे पनि मातृभूमिप्रतिको अगाढ माया र शद्भावले भरिएको प्रेम नै यो स्थापनाको कारण हो । कर्मले जहाँ–जहाँ डोर्याए पनि मनमा नेपाली पन र जीवनमा नेपाली चलन साँच्न सक्नु हाम्रो मूल विशेषता हो । यसैका कारण हामी नेपाली, नेपाली भाषाका लागि सदैव सचेत छौँ ।’














प्रतिक्रिया