
अमेरिका । हरि उप्रेती डायस्पोरा नेपाली गीत संगीतको एक स्थापित नाम हो ।
गीत संगीतका माध्यमबाट जीवन दर्शनको अनुभूति गर्न सकिन्छ भन्ने दृढ़ विश्वास राख्ने गीतकार उप्रेतीले विगत पच्चीस वर्ष देखि नेपाली साहित्यमा योगदान पुर्याउँदै आएका छन भने गीत संगीतलाई पनि त्यति नै माया गर्ने गर्दछन् ।
आफ्नो जन्मभूमि छोड्नुको पीडा र भाषा साहित्य सिक्न बाट वन्चित गराउने त्यो भुटानी तानाशाहको तमासाले अझै पनि गीतकार उप्रेतीलाई झस्काई रहन्छ । कर्मभूमि अमेरिका बसेर पनि नेपाली साहित्य, गीत संगीतलाई बेजोड माया गर्ने गीतकार उप्रेतीले दर्जनौँ चलचित्रमा गीत लेखिसकेका छन भने आधुनिक विधामा गीति एल्बम करूणा भाग १ र भाग २ बजारमा ल्याई सकेका छन् ।
त्यस्तै अडियो बुक ‘मनका तरेलीहरू’ पनि बजारमा ल्याएका छन् । साहित्यको गजल विधामा पनि उनी बेजोड कलम चलाउने गर्दछन् । केही समयअघि मात्र गजल संग्रह गुनासो बजारमा आई सकेको छ । यिनै कृतिहरूको अपार सफलता पछि गीतकार उप्रेतीले भक्ति रचनामा पनि कलम चलाएका छन् । यसै क्रममा वैष्णव परिषद अमेरिकाले आयोजना गरेको एक धार्मिक कार्यक्रम श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा भक्ति एल्बम ‘प्रभु वन्दना’ विमोचन गरेका छन् ।
विमोचन समारोहमा गीतकार उप्रेती र सोही एल्बमका उदीयमान गायक भीम ढकालको उपस्थिति रहेको थियो । सयौं भक्तजनको उपस्थितिमाझ सम्पन्न भएको समारोहमा धार्मिक गुरू स्वामी दामोदर आचार्य तथा गीतकार उप्रेतीका माता पिता, कर्म दिने माता पिता एवम् गायक ढकालका माता पिताका हातबाट भक्ति एल्बम विमोचन गरिएको थियो ।
समारोहमा वैदिक सेवा समाजका पूर्वध्यक्ष काँसी अधिकारीले स्रष्टाहरूको परिचय दिएका थिए भने उक्त एल्बमको संक्षिप्त समीक्षा पण्डित नारायण सान्डिल्य र गायक लोक पौडेलले गरेका थिए ।
एल्बममा सुमधुर स्वरकी धनी एवं गायिका तृप्ति खड्काको एकल संगीत रहेको छ विभिन्न स्रष्टाहरूको संगीत संयोजन रहेको छ ।













प्रतिक्रिया