२८ आश्विन २०८३, बुधबार

रमेश खरेलले श्रीमतीलाई झपारेपछि ….

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ranju_kharel_wife_Ramesh__Kharel

विश्व मानचित्रमा नेपाल अत्यधिक भ्रष्टाचार हुने मुलुकमध्यमा पर्छ। भ्रष्टाचारको यो कहालीलाग्दो सूचकाङकलाई घटाउने सबैभन्दा सत्रिय भूमिका न्यायाधीश एवं प्रहरी प्रशासनले खेल्नुपर्ने हुन्छ । जानकारहरुका अनुसार नेपालमा यिनै न्यायाधीश र प्रहरी बढी भ्रष्ट छन्। त्यसैले पनि भ्रष्टाचारसम्बन्धी जतिसुकै कडा कानुन ल्याए पनि भ्रष्टाचार कम हुन सकेको छैन। यद्यपि यही भ्रष्टहरुका बीचमा केही यस्ता न्यायाधीश एवं प्रहरी अधिकृत छन्, जसले विधिको शासन स्थापित गर्ने प्रयास गरिरहेका छन्। यहाँ नेपाल प्रहरीका चर्चित प्रहरी अधिकृत एसएसपी रमेश खरेलको भित्री पाटो खोलिदैछ, जो २२ बर्षे कार्यकालमा कहिल्यै कुनै शक्तिका सामु झुकेनन्, न आफैं कुनै गलत त्रियाकलापमा संलग्न भए। एसएसपी खरेलकी जीवनसाथी रञ्जु खरेल त्यसको साक्षी छिन् ।

आफूलाई रमेश खरेलकी श्रीमतीका रुपमा मूल्यांकन गर्दा कस्तो महसुस हुन्छ ?

एउटा लक्ष्मण रेखा कोरिन्छ। म यस्तो व्यक्तिकी श्रीमती हुँ, जसले कहिल्यै गल्ती गर्दैन भन्ने छाप जनमानसमा परेको छ। यसले मेरो छाती चौडा हुन्छ।

उहाँ साच्चैको इमान्दार प्रहरी हो कि, मानिसमा त्यस्तो छाप मात्र परेको हो ?

नेपालजस्तो भ्रष्ट व्यक्तिहरुको बोलावाला भएको मुलुकमा इमान्दार प्रहरीको छवि बनाउन कति मुस्किल छ होला ? जसको जति नाम हुन्छ, सानो कुराले पनि त्यसको त्योभन्दा बढी बद्नाम हुन्छ। उहाले यसरी काम गर्नुभयो कि आज रमेश खरेलतर्फ सबैका आखा सोझिएका छन्। यसमा दुई थरी मानिस छन्, पहिलो मिडिया र आममान्छे, जसले रमेश खरेलले गल्ती नगरोस् भनेर चिन्ता गर्छन्। अर्को उहाँका समकालीन एवं ईष्र्या गर्ने व्यक्तिहरु जसले रमेशले सानो गल्ती गरे पनि हुन्थ्यो भन्नेहरु छन्। आखिर यस्तो वातावण किन पैदा भयो ? किनभने यसअघि कसैले पनि यस्तो स्टेट फरवर्ड काम गर्ने हिम्मत गरेन।

तपाईंलाई कहिले विश्वास भयो, रमेश खरेल इमान्दार प्रहरी अधिकृत हो ?

मेरो २० वर्षको उमेरमा मागी विवाह भएको हो। उहाँ भर्खरै इन्स्पेक्टर हुनुभएको रहेछ। त्यो बेला हामी संयुक्त परिवारमा थियौं, त्यसैले खर्च को त्यति समस्या भएन। जब केही वर्षपछि हामी छुट्टियौं, पहाडबाट सम्पूर्ण खाद्य सामाग्री आउँदा पनि हामीलाई बाँच्न अप्ठयारो पर्‍यो। विवाह हुँदा मैले प्लस टु मात्र गरेकी थिएँ, त्यसैले म पढ्थेँ। त्यो बेला पैसाको अभाव भएपछि मैले प्रश्न गरें, प्रहरीमा त राम्रो पैसा हुन्छ भन्ने सुनेकी थिएँ, तपाईं त तलब मात्रै ल्याउनुहुन्छ। उहाँले भन्नुभयो, ‘तिमीले म्यानेज गर्नुपर्छ, म आफ्नो तलबबाहेक एक पैसा पनि ल्याउन सक्दिन ।’ त्यो बेला यो मान्छे अलिकति इमान्दार हो भन्ने लाग्यो ।

अलिकति मात्रै ?

त्यो बेला अलिकति मात्रै लाग्यो। किनभने म आफ्नो अध्ययनमा व्यस्त थिएँ। कमाएको पैसा आफैं राख्नुहुन्छ होला भन्ने लाग्थ्यो। अलि कडा स्वभाव भएकाले लोग्नेमान्छेले अलिकति त फुर्ती लगाउँछन् भन्ने पनि लाग्यो। त्यसको केही समयपछि तराईतिरका एक जना वृद्ध एक कार्टुन आँप र केही लिची लिएर हाम्रो डेरामा आइपुगे। प्रेमपूर्वक ल्याएको हुँदा मैले राखें। साँझ उहाँ फर्कँदा मैले केही लिची दिदै एक जना बूढा मान्छेले ल्याएको भनेर उनको प्रशंसा गरें। उहाँले त्यो छुनुभएन। बरु तुरुन्तै उसलाई बोलाउन लगाउनु भयो। बिचरा ती बूढा मान्छेलाई यसरी थर्काउनु भयो कि उनी सरक्कै ती सामग्री बोकेर फर्किएए। मलाई लाग्यो, अहो कस्तो श्रीमान् पाएछु ?

तपाईंले केही भन्नुभएन ?

भ्रष्टाचार पो नगर्नु त। अरुले प्रेमपूर्वक दिएको कुरा वा अरुलाई अप्ठयारो नपारी गरेको कमाइले के बिग्रन्छ ? भनेर सम्झाउन खोजें। त्यस दिन उहाँले मेरै सातो खानुभयो। श्रीमती भएर श्रीमानको लक्ष्यलाई बिगार्न खोज्ने ? म कुनै पनि हालतमा मेरो नीतिभन्दा दायाँ–बायाँ गर्न सक्दिन भनेर सम्झाउनुभयो। कसैले प्रेमपूर्वक उपहार दिएको कुरा पनि स्वीकार नगर्ने बानी देखेपछि म विश्वास गर्न बाध्य भए ।

ramesh-kharel-and-ranju-kharel

सानो कुरामा पनि कप्रोमाइज नगर्ने स्वभावका कारण उहाँको बढुवा ढिलो भयो भन्ने शुभचिन्तकहरुको भनाइ छ, कस्तो लाग्छ ?

मलाई पनि त्यस्तै लाग्छ। उहाँका लागि कानुनका दृष्टिमा सबै व्यक्ति समान हुन्। एकपटक प्रहरी प्रमुख रमेशचन्द ठकुरीका बहिनी–ज्वाइलाई नै थुनिदिनुभयो। ठमेलको रेस्टुराँमा सानो–तिनो के गलफत्ती भएको थियो, उहाँले थुन्ने आदेश दिनुभयो। पछि थाहा भयो, प्रहरी प्रमुखकै ज्वाइँ। रातभरी माथिबाट फोन आइरह्यो, तर उहाँले नियमअनुसार गर्छु भनेर टारिदिनुभयो। त्यति मात्र कहाँ हो र ? सक्रिय राजतन्त्र भएका बेला तत्कालीन राजाका ज्वाइँ राजबहादुर सिंह क्यासिनोमा जुवा खेल्दैखेल्दै फेला पार्नुभएछ। ठूला मान्छेले अरुलाई नियममा हिड्न सिकाउनुपर्नेमा आफैं नियम मिच्ने भन्दै थुनिदिनुभयो। उहाँले चाहेको भए ठूला मान्छे हुन्, एकपटक सम्झाएर छाड्न सक्नुहुन्थ्यो, तर मान्नुभएन। यी र यस्ता घटनाले बढुवामा समस्या भएका हुन् कि भन्ने लाग्छ, तर उहाँ यस्ता कुरामा विश्वास गर्नु हुन्न।

तपाईंको विचारमा रमेश खरेलको यो स्वभावको विकास कसरी भयो ?

उहाँले प्रहरी ज्वाइन गर्नुको काराण नै गलत क्रियाकलाप रोक्ने रहेछ। त्यसमाथि उहाँले भारत सरकारले नेपाल प्रहरीलाई दिने आइपीएस तालिम पनि लिनुभएको रहेछ। उक्त तालिमले उहाँको माइन्ड नै वास गर्‍यो रे।

आफूले उहाँको लक्ष्यमा सहयोग पुर्‍याइरहेको छु भन्ने लाग्छ ?

मलाई युरोप–अमेरिका घुम्नुपर्‍यो, फलानो गाडी चाहियो भनेर रातदिन कचकच गर्ने हो भने उहाँ डगमगाउन सक्नुहुन्छ। एउटा लोग्नेमान्छे संसारसँग लड्न सक्छ, घरमा लड्न सक्दैन भन्ने मलाई राम्रैसँग थाहा छ। यद्यपि म मेरा कारणले उहाँको छवि बिग्रने कुनै क्रियाकलाप होस् भन्ने चाहन्न ।

सानो काम गरिदिदा त केही फरक पर्दैन भनेर भन्नुहुन्न ?

एकपल्ट मेरी छोरी साह्रै बिरामी भई। त्यो बेला एक जना सिपाहीले मलाई धेरै सहयोग गरेका थिए। अहिले उनको रिटायर्ड हुने बेला भयो। उनी मेरो घर आएर ‘सर यूएन शाखामा हुनुहुन्छ, एकपल्ट मिसनमा जान पाए मेरो ऋण तिरिसकिन्थ्यो, साह्रै बिजोग छ’ भनेर रुन थाले। पहिले त मैले वास्ता गरिन, धेरै पटक आएपछि भने मैले यो मान्छेलाई साँच्चै समस्या छ भन्ने बुझें। लामो भूमिका बाँधेर उनको सिफारिस गरें, तर उहाँले मान्नुभएन। म जबसम्म यो पदमा छु, प्रतिस्पर्धा नजितेको एक जना पनि मान्छे पनि मिसनमा जाँदैन, किनभने उसको कारणले अर्को ट्यालेन्ट मान्छे छुट्छ भन्नुभयो। मलाई लाग्छ, यस्ता सानातिना सहयोग गर्नुपर्छ, किनभने हामी पनि मानव हौं।

नेपालले एउटा असल प्रहरी पायो, तर रमेश खरेल आफैंमा असल श्रीमान् हुन सकेनन् भन्ने लाग्दैन ?

छोराछोरी सम्हाल्दै बाहिर जागिर खान जानुपरेको छ। कहिलेकाही दिक्क त लाग्छ नै। कहिलेकाही तिमीले मेरो परिवार राम्री म्यानेज गरिदिएकी छौ र मैले आफ्नो काम गर्न पाइरहेको छु भनेर प्रशंसा गर्नुहुन्छ। त्यसले निभ्न लागेको प्रेम र स्नेहको बत्तीमा तेलको काम गर्छ।

(काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलको ब्यक्तित्व मुख्य बहसको विषय बनेको समयमा सान्दर्भिक ठानेर कान्तिपुर साप्ताहिकबाट साभार गरेर यो अन्तर्वार्ता प्रकाशित गरिएको हो)