५ कार्तिक २०८३, बिहिबार

सूर्यविनायकमा नेपालकै पहिलो द्वारका धाम निर्माण हुँदै, भोलि जग राखिने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मन्दिर निर्माणको गुरुयोजनामा समेटिएको निर्माणाधीन मन्दिरको तस्वीर ।

भक्तपुर, २४ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालमै पहिलो द्वारका धाम निर्माण हुने भएको छ ।

भोलि दिउँसो १ बजेर ३२ मिनेटमा जगको साइत गरी उक्त द्वारकाधाम निर्माण शुरू गरिने मन्दिर निर्माणका मुख्य अगुवाई तथा गुण्डुस्थित पाथिभरा मन्दिरका मूल पूजारी अरविन्द शास्त्रीले जानकारी दिएका छन् । पश्चिम भारतको गुजरातमा रहेको प्रसिद्व द्वारकाधाम जस्तै सूर्यविनायकको गुण्डुमा नेपालकै पहिलो द्वारकाधाम निर्माण शुरू गरिन लागिएको उनको भनाइ छ ।

हिन्दू धर्मावलम्बीहरूले मान्दै आएको चार धाम मध्येको एक धाम हो द्वारका धाम । नेपालका नागरिक द्वारका धामको दर्शन गर्नु परे भारतमा रहेको द्वारकाधाम जाने गर्दछन् । यसर्थ नेपालमा पनि द्वारकाधामको आवश्यकता महसुस गर्दै धाम निर्माण गर्न लागिएको हो ।

‘भक्तपुरको गुण्डुमा २०७५ सालमा पाथिभरा मन्दिर निर्माण गरेर धार्मिक विकासमा टेवा पुर्याएका छौँ, अब पाँच वर्षभित्र भारतको जस्तै आकृतिमा नेपालमै पहिलो द्वारका धाम निर्माणमा हामी जुटेका छौँ,’ पुजारी शास्त्रीले भने, ‘भोलि बुधबारको शुभसाइतमा जग पूजा एवम् हवन गरी धामको निर्माण कार्य शुरू गरिने छ ।’

करिब आठ रोपनी क्षेत्रफलमा २० करोडको लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ द्वारका धामको गुरुयोजना निर्माण सम्पन्न गरी मन्दिर निर्माणको कार्य अगाडि बढाएको उनले जानकारी दिए । द्वारका धामको मूल मन्दिर मात्रै तीन रोपनी क्षेत्रफलमा फैलिने बताउदै उनले भारतको द्वारका धाममै मन्दिरको मुख्य मूर्ति निर्माण कार्य शुरू भइसकेको जानकारी पनि दिएका छन् ।

तीन वटै सरकार र दाताहरूबाट सङ्कलन हुने रकमबाट मन्दिर निर्माण पूरा गर्ने लक्ष्य राखेको बताउदै उनले द्वारका धामसँगै पाथिभरा मन्दिर परिसरमा सबै गोत्रका ऋषिहरू मूर्ति स्थापना गरिने जानकारी दिए ।

यस क्षेत्रमा पाथिभरा मन्दिरदेखि द्वारकाधाम निर्माणमासम्म सांसद महेश बस्नेतले टेवा दिएको भन्दै शास्त्रीले सबै क्षेत्रको बासिन्दलाई समेटर निर्माण समिति बनाएर यसलाई पूर्णता दिने बताए । मन्दिर निर्माणका लागि ५०औँ वर्ष अगाडिदेखि जग्गाको भोगचलन गर्दै आएका स्थानीय अर्जुन बस्नेतदेखि यहाँका बस्नेतहरूले जग्गा उपलब्ध गराएर मन्दिर निर्माणमा ठूलो गुण लगाएको उनको भनाइ छ ।

मन्दिर निर्माणमा स्थानीय सरकारको पनि सहयोग रहने नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए । उनले भक्तपुरको गुण्डुमा पाथिभरा मन्दिर निर्माण भएपछि नयाँ पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गर्दै द्वारका धामको निर्माणले यस क्षेत्रमा धार्मिक पर्यटनको विकास हुने र द्वारका धामको दर्शन गर्न भारत गइरहनु नपर्ने बताए ।

गौ संरक्षण केन्द्रले पाथिभरा मन्दिर निर्माणदेखि अहिले द्वारका धाम निर्माणमा समेत अगुवाई गरेको छ । केन्द्रका अध्यक्ष नारायणप्रसाद न्यौपानेले ताप्लेजुङको पाथिभरा मन्दिरमा २०७२ सालमा पाँच वर्षको अखण्डदीप प्रज्ज्वलन गरी २०७५ सालमा सवा करोड बत्ती बालेर नेपालकै ठूलो त्रिशूल जगाएर गुण्डुमा पाथिभराको मन्दिर निर्माण स्थलमा स्थापना गरेसँगै मन्दिर निर्माण सम्पन्न भएको बताए ।

त्यतिबेलादेखि नै यसै स्थानमा द्वारकाधाम निर्माण गर्ने सङ्कल्प लिएकोमा अब पूरा गर्ने समय आएको भन्दै उनले द्वारकाधाम मेरो पनि हो, त्यसको निर्माणमा मेरो पनि लगानी छ भन्ने हक राख्नका लागि दाताहरूलाई उनले आव्हान गरेका छन् । गौ अर्थात् गाईहरूको संरक्षण गर्ने संस्कृत विद्यालय स्थापना गर्ने र धार्मिक क्षेत्रको विकास गर्ने लक्ष्यका साथ अभियान शुरू गरेको यहाँ अहिले बटुकहरूलाई दिक्षा दिने र संस्कृत पाठशाला समेतको शुभारम्भ गरिएको छ । –सविन केसीबाट