३० आश्विन २०८३, शुक्रबार

तीन घण्टा लाममा उभिए, उपचार नपाएर फर्किए

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बागलुङ, २२ साउन । चाँडो चिकित्सक भेट्न पाइएला भनेर बागलुङ नगरपालिका–१२ का टुकबहादुर नेपाली आइतबार बिहान ९ बजे नै धवलागिरि अस्पताल पुगे । पेटको पत्थरीले दुःख दिएपछि उपचारमा गएका नेपालीले अस्पतालमा भने उल्टो सास्ती खेप्नुप¥यो ।

दुई घण्टा लाममा उभिएपछि बल्लतल्ल पाएको बहिरङ्ग सेवाको टिकट लिएर उनी जनरल सर्जनकहाँ पुगे । स्वास्थ्य जाँच र परामर्शपछि चिकित्सकले नेपालीलाई भिडियो एक्सरेका लागि सिफारिस गरिदिए ।

भिडियो एक्सरेका लागि बिल बनाउन नेपाली फेरि टिकट कक्षमै गएर लाममा उभिनुप¥यो । ठेलमठेल भीडमा घण्टौँ उभिएपछि उहाँले पालो त पाए तर ‘आज भिडियो एक्सरे हुँदैन’ भन्दै कर्मचारीले झ्यालबाटै फर्काइदिए । भिडियो एक्सरेलाई तोकिएको दैनिक ५० जनाको कोटा सकिएको भन्दै कर्मचारीले बिल काट्न नमानेको नेपालीले बताए ।

“यो कुरा हामीलाई पहिले भनिएन, पछि एक्कासि आज भिडियो एक्सरे हुँदैन भनेर फर्काए”, उनले दुःखेसो पोखे, “बर्सातको बेला महँगो भाडा तिरेर गाउँदेखि आइएको छ, उपचार नगराई कसरी फर्कनु, बजारमा बस्नलाई पैसा छैन ।”

चिकित्सकले सिफारिस लेखेर पठाएपछि भिडियो एक्सरे हुँदैन भनेर बिरामीलाई फर्काउनु अस्पतालको लापरबाही भएको नेपालीको भनाइ छ । उनीसँगै लाममा उभिनुभएकी बागलुङ–१ की लीला कार्की पनि अस्पतालको अव्यवस्था देखेर बेचैन देखिन्थिन् । टोकन लिँदा, टिकट बनाउँदा, चिकित्सक कुर्दा, बिल बनाउँदा र औषधि लिँदा ठूलो झण्झट बेहोर्नुपरेको उनले उल्लेख गरिन् ।

“दुई घण्टा भयो टिकट पाइएको छैन, डाक्टर भेटिने कहिले हो, उपचार पाउने कहिले ?”, कार्कीले भनिन् । कार्की स्त्रीरोग विशेषज्ञसँग स्वास्थ्य जाँच गराउन अस्पताल पुगेका थिए । टिकट कक्षका कर्मचारीले पनि सेवालाई छिटोछरितो बनाउन नसकेकामा उनको गुनासो छ ।

बागलुङ–३ का तारा सापकोटा पनि छोरा देवेन्द्रको पेटको उपचारका लागि अस्पताल पुगेका थिइन् । उनले पनि छोराको भिडियो एक्सरे गर्न नपाएको बताइन् । “घण्टौँसम्म लाममा बस्न लगाएर पछि भिडियो एक्सरे हुँदैन भनेर फर्काइदिए”, उनले भनिन्, “सेवा दिन सकिँदैन भने सुरुमै जानकारी दिनुपर्छ, जे मन लाग्यो त्यही गर्न पाइँदैन ।”

उपचारका लागि घण्टौँसम्म लाम लागेका अरु बिरामी र उनीहरुका आफन्त पनि अस्पतालको सेवा प्रवाहप्रति असन्तुष्ट देखिन्थे । अस्पताल व्यवस्थापनले बिरामीको समस्यालाई अनदेखा गरिरहेको उनीहरुको गुनासो थियो । अस्पतालको रेडियोलोजी विभागका सहयोगी स्वास्थ्यकर्मी अजिता पन्तले दिनमा ५० जना बिरामीको मात्र भिडियो एक्सरे हुने गरेको जानकारी दिइन् ।

“पचास जनाभन्दा बढी बिरामी हेर्न डाक्टरले पनि भ्याउनुहुँदैन, पहिले टिकट काटेर पछि फर्काएको विषय हामीलाई थाहा भएन, त्यसको व्यवस्थापन टिकट कक्षबाटै हुनुपर्ने हो”, उनले भनिन् । अस्पतालमा रेडियोलोजिष्टका रूपमा डा प्रशुन घिमिरे कार्यरत छन् । विभागमा जनशक्ति कम भएकाले पनि बिरामीको चाप थेग्नै धौ धौको स्थिति छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र विक पोखरेलले आइतबार यसै पनि बिरामीको चाप बढी हुने हुँदा व्यवस्थापनमा केही अपुगता भएको बताए । “जनशक्ति अभावको पुरानै समस्या छ, हामीले यो विषय पटकपटक सम्बन्धित पक्षसम्म पु¥याएका छौँ, तर सुनुवाइ हुनसकेको छैन”, उनले भने ।

टिकककक्षमा हुने भीड र लाममा उभिनुपर्ने स्थितिको अन्त्यका लागि प्रविधिमा पोख्त र चुस्त जनशक्तिको प्रबन्ध गर्न लागिएको मेसु पोखरेलले बताए । उनले गण्डकी प्रदेश सरकारले दिएको नयाँ सफ्टवेयरमा अभ्यस्त हुन कर्मचारीलाई समय लागेकाले पनि सेवा प्रवाह छरितो हुन नसकेको बताए ।

“काउण्टरलाई सुधार गर्न योजना बनाएका छौँ, अब अहिलेको समस्या हट्छ, रेडियोलोजी विभागमा पनि जनशक्ति थप्नुपर्ने अवस्था छ, बिरामीको चाप यस्तै रूपमा बढ्दै जाने हो भने एकजना मात्र रेडियोलोजिष्टले भ्याउनै सक्दैन”, उनले भने, “अस्पतालप्रति जनविश्वास बढेर नै बिरामीको चाप बढेको हो, हामी सेवालाई अझ प्रभावकारी बनाउनतिर लाग्छौँ, भएका कमीलाई सुधार्छौँ ।”

उपप्रादेशिक तहको यस अस्पतालमा १६ विशेषज्ञ चिकित्सक र छ जना मेडिकल अधिकृतको दरबन्दी छ । एघार विशेषज्ञ र चार जना मेडिकल अधिकृत मात्र अस्पतालमा कार्यरत छन् । तीमध्ये पनि अधिकांश छात्रवृत्ति करारका चिकित्सक छन् । –रासस