
काठमाडौं, २२ साउन । नेकपा एमालेका उपमहासचिव एवम् पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेत्रबहादुर चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई अगाडि सारेर सरकारले आगामी निर्वाचनमा बुथ कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।
सरकारले नेकपाका कतिपय नेता–कार्यकर्ताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेर निर्वाचनको वरीपरी पुनः हिंसालाई प्रोत्साहन गर्न खोजेको सांसद ज्ञवालीको भनाइ छ । आज आइतबार बसेको प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा व्यक्त गर्दै उनले केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले मिहिनेतका साथ शान्तिपूर्ण राजनीतिमा फर्काएको पार्टीलाई वर्तमान सरकारले पुनः हिंसामा जान प्रेरित गरेको आरोप लगाएका हुन् ।
‘उहाँहरू हिंसाको बाटोमा हुनुहुन्थ्यो । पूर्ववर्ती सरकारले बढो महत्व र मिहिनेतका साथ वार्ता गरेर उहाँहरूलाई शान्तिपूर्ण राजनीतिको बाटोमा ल्याइपुर्यायो । त्यसका लागि धन्यवाद भन्नुपर्ने र उहाँहरूको मेनस्ट्रिमनाइजेशनका निम्ति हामी सबैले सहयोग गर्नुपर्नेमा पक्राउ पुर्जी जारी गरेर के तिमि फेरि बम पड्काउन जाउ भन्न खोजेको हो,’ ज्ञवालीले प्रश्न गर्दै भने ।
उनले निर्वाचनको बेलामा हिंसात्मक समूहले बम पड्काउँदा त्यसलाई देखाएर बुथ कब्जा गर्न सहज हुने बाटो सरकारले अख्तियारी गरेको आशय समेत गरेका छन् । ‘सरकारलाई चुनावको बेलामा दुई–चार ठाउँमा बम पड्क्यो भने बिप्लवको थाप्लामा हालेर बुथ कब्जा गर्न सजिलो हुन्छ भन्ने पो लाग्या हो कि ? होइन भने यतिबेला उहाँहरूलाई पक्राउ पूर्जी जारी गर्नुको कुनै औचित्य छ र ?’















प्रतिक्रिया