३० आश्विन २०८३, शुक्रबार

तनहुँमा थपिए सात हजार ५४ नयाँ मतदाता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २२ साउन । तनहुँ जिल्लामा सात हजार ५४ नयाँ मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनपछि सञ्चालन गरिएको मतदाता नामावली सङ्कलन अभियानबाट ती मतदाता थपिएका हुन् ।

सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै शुक्रबारदेखि मतदाता नामावली सङ्कलन स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

मतदाता दर्ताको अन्तिम दिन बिहीबारसम्म तीन हजार चार सय १२ महिला र तीन हजार ६ सय ४२ पुरुष थपिएका छन् । त्यस्तै बाहिरी जिल्लाका तीन सय ६० मतदाताले तनहुँबाट मतदाता नामावली दर्ता गरेको कार्यालयले जनाएको छ ।

असार मसान्तसम्म चार हजार आठ सय ८६ मतदाता थपिएकामा साउन १ देखि १९ गतेसम्म दुई हजार पाँच सय २८ मतदाता थप भएको उनले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयमा रहेको तीन दर्तास्थलबाट यस अवधिमा तीन हजार छ सय ४९ र जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको एउटा दर्तास्थलबाट तीन हजार चार सय पाँच मतदाता थपिएका छन् । “निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको छ, अब हामी आन्तरिक तयारीमा जुट्छौँ,” उनले भने ।

स्थानीय तहको निर्वाचनपछि जिल्लामा मतदाता नामावली दर्ताका लागि सर्वसाधारणको आकर्षण थियो । मतदाता नामावली दर्ताका लागि सर्वसाधारण गाडी रिजर्भ गरेरै दमौलीसम्म आउने गरेका थिए ।

जिल्लामा हालसम्म दुई लाख ४४ हजार तीन सय ४० मतदाता कायम भएका छन् । विसं २०७९ वैशाख २९ गतेसम्म एक लाख १७ हजार एक सय ३४ पुरुष र एक सय २७ हजार दुई सय छ मतदाता छन् ।

जसपाका अध्यक्षमा गुरुङ

जनता समाजवादी पार्टी नेपाल जिल्ला कमिटी तनहुँको अध्यक्षमा अर्जुन गुरुङ चयन भएका छन् । उक्त पार्टीको शनिबार दमौलीमा सम्पन्न विस्तारित भेलाले गुरुङका अध्यक्षतामा ३१ सदस्यीय कमिटी पुनर्गठन गरेको हो ।

पार्टीको उपाध्यक्षमा धनमाया गौली, ऋषिराम पौडेल र जुमबहादुर गुरुङ चयन भएका छन् । सचिवमा हेमबहादुर थापा, उपसचिवमा चन्द्रप्रकाश गुरुङ, सुभिलाल आले र लक्ष्मी गुरुङ, कोषाध्यक्षमा दीपा राना मगर चयन भएका छन् ।

सदस्यमा सविता थापा, कृष्णबहादुर परियार, मनमाया थापा, रुपा थापा, रणध्वज थापा, मोहनबहादुर सारु, देउबहादुर थापा, श्रीप्रसाद आले, नरबहादुर याँदी, शुकलाल मगर, सम्झना कुमाल, रामबहादुर मिश्र, हर्कमान सुनार, यमकुमारी गुरुङ, वसन्ती कुमाल, प्रेमबहादुर गुरुङ, धनमाया गुरुङ, जुना दरै, पूर्णि दरै, कृष्णबहादुर बसेल, हेमबहादुर नेपाली, सञ्जीत सुर्खाली चयन भएको केन्द्रीय सदस्य खड्गबहादुर आले मगरले जानकारी दिए ।

विस्तारित बैठकमा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवं तत्कालीन संविधानसभा सदस्य शिवलाल थापा मगर, पार्टी विज्ञ परिषद् सदस्य सोम नेपाली, सङ्घीय परिषद् सदस्य चुडाराम परियार लगायतले वर्तमान राजनीतिक अवस्थाका बारेमा बोलेका थिए ।

चार पक्की पुल निर्माण सम्पन्न

पूर्वाधार विकास कार्यालयमार्फत आर्थिक वर्ष ०७८/७९ मा चार पक्की पुल निर्माण सम्पन्न भएका छन् । जिल्लाका विभिन्न ठाउँमा करिब रु १६ करोड बराबरका ती पक्की पुल निर्माण सम्पन्न भएका हुन् । विभिन्न मितिमा निर्माण सुरु भएका उक्त पुल आर्थिक वर्ष ०७८/७९ मा निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।

कार्यालयले रिस्तीखोला मोटरेबल पुल सोतीबेँसी, बुडुवाखोला मोटरेबल पुल, फेदीखोला मोटरेबल पुल र रिस्तीखोला मोटरेबल पुल बगुवा निर्माण सम्पन्न गरेको कार्यालयका सूचना अधिकारी धनमाया मिश्रले जानकारी दिए ।

फेदीखोला मोटरेबल पुल रु चार करोड २८ लाख ३२ हजार, बुडुवा खोला पुल रु दुई करोड नौ लाख, रिस्ती बगुवाखोला पुल रु चार करोड २५ लाख र रिस्ती सोतीबेँसीको पुल रु चार करोड ७१ लाख ३६ हजारको लागतमा सम्पन्न भएको हो ।

फेदी खोलामा २५ मिटर, बुडुवा खोलामा १९ दशमलव आठ मिटर, रिस्ती बगुवा ५२ मिटर र सोतीबँेसीमा ४१ मिटर लामो स्पान टाइपको मोटरेबल पुल निर्माण भएको मिश्रले जानकारी दिए ।

उक्त आर्थिक वर्षमा सातवटा पुल सम्पन्न गर्ने लक्ष्य राखिए पनि जेठ र असारमा वर्षाका कारण काम गर्न कठिनाइ भएपछि तीनवटा पुल निर्माण सम्पन्न हुन नसकेको उनले बताए ।

“सातवटा पुल सम्पन्न हुन्छ भन्ने लक्ष्य थियो, तर तीनवटा पुलको काममा ढिलाइ भयो, चारवटा मात्रै सम्पन्न भएको छ,” उनले भने । करिब रु ११ करोडको लागतमा निर्माण सम्पन्न हुने तीन पुलहरु अन्तिम चरणमा पुगेको छ ।

ज्वालाखोला मोटरेबल पुल रु तीन करोड २१ लाख, द्रोपद खोला मोटरेबल पुल रु तीन करोड ८३ लाख र बरखोला पुल रु तीन करोड ३६ लाखको लागतमा निर्माण भइरहेको कार्यालयले जनाएको छ ।

कार्यालयले आवमा ६४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । उक्त वर्ष रु एक अर्ब ३१ करोड सात हजार ४० विनियोजन भएकामा रु ८४ करोड ७६ लाख १४ हजार खर्च भएको जनाइएको छ ।

पूँजीगततर्फ कूल रु एक अर्ब २८ करोड ६२ लाख ८२ हजार विनियोजन भएकामा रु ८३ करोड ३४ लाख पाँच हजार खर्च भएको कार्यालयले जनाएको छ । चालुतर्फ विनियोजित रु दुई करोड ४४ लाख ५८ हजारमध्ये रु एक करोड ४२ लाख नौ हजार खर्च भएको छ ।

आवको मसान्तको समयमा विकास निर्माणको काम गर्ने प्रवृत्तिका कारण कार्यालयले विकास बजेट सोचे अनुरुपको खर्च गर्न नसकेको हो । “जेठ असारमा पानी परेर काम हुन नसकेपछि लक्ष्य अनुसारको प्रगति हासिल हुन सकेन,” उनले भने । –रासस