३० आश्विन २०८३, शुक्रबार

हुलाकी सडक निर्माण सुस्त

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, १८ साउन । सर्लाही जिल्ला अन्तर्गत पर्ने हुलाकी सडक खण्डको निर्माण सुस्त भएको छ । निर्माण सुरु भएको वर्षौं भइसक्दा पनि काम सम्पन्न नहुँदा बनेका सडक पनि अहिले जीर्ण भइसकेका छन् ।

जीर्ण सडकको स्तरोन्नतिसमेत नहुँदा स्थानीय हिउँदमा धुलो र वर्षामा हिलोको सास्ती खेप्न बाध्य भएका छन् । राणाकालीन समयमा चिठीपत्र पुयाउने ‘हुलाकी’ कुद्ने भनेर रेखाङ्कन गरिएको पूर्वदेखि पश्चिम जोडिने ‘हुलाकी सडक’ निर्माण सुरु भएको लामो समय भइसक्दा पनि निर्माण सम्पन्न नहुँदा स्थानीय समस्यामा परेका छन् ।

तत्कालीन राजा महेन्द्र शाहले हुलाकी सडकलाई प्राथमिकतामा नपारी मधेसको बस्तीभन्दा २०–३० किलोमिटर उत्तर चुरेछेउमा जङ्गल फँडानी गरेर पूर्व–पश्चिम लोकमार्ग निर्माण अघि बढाएपछि हुलाकी सडक निर्माणको काम ओझेलमा परेको थियो ।

यसयता पनि मधेसको जीवनस्तर बदल्ने महत्वपूर्ण मार्गका रुपमा मानिएको सो सडक सरकारी प्राथमिकतामा पर्न सकेको छैन । हुलाकी सडक स्थापनापश्चात् चार शासन व्यवस्था फेरिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि सडक निर्माणले तीव्र गति नपाउनु मधेसका लागि दुर्भाग्य हो ।

कूल ४० दशमलव ३७ किलोमिटर हुलाकी सडक निर्माण गर्न रु ६४ करोडमा पाँच वर्षभित्र हुलाकी सडक कालोपत्र सक्ने गरी हिन्दुङ्ग एन्ड ठोकर हिरा एन्ड नमीता जेभी / हिन्दुङ्ग एन्ड ठोकर शाहा निर्माण सेवा र दिवा निर्माण सेवालाई २०७३ सालमा तीनवटा प्याकेजमा ठेक्का लागाइएको थियो ।

हालसम्म निर्माण कम्पनीले करिब रु ३२ करोड रकम लगिसके भए पनि सडकको अवस्था उस्तै छ । गोडैता नगरपालिकाका स्थानीय कपिल महतोले सडकको दुरवस्थाका कारण यस भेगका नागरिकले सधैँ सास्ती व्यहोरिरहेको गुनासो गर्नुभयो ।

“आफूहरूका लागि हुलाकी सडक नै मुख्य सडक हो, जहाँ गए पनि हुलाकी सडक भएरै जानुपर्छ तर सडक निर्माणको काम सुस्त छ कतै निर्माण भइसकेको सडक जीर्ण भइसकेको छ”, उहाँले भन्नुभयो ।

“बाल्यकालदेखि देख्दै आएको सडकको अवस्था जस्ताको त्यस्तै छ, हिउँदमा धुलोको मार खेप्दै आएका आफूहरु वर्षा लागेपछि हिलाम्ये बाटो हिँड्न बाध्य भएका”,उहाँले भन्नुभयो ।

हुलाकी सडकलाई मधेसको ‘लाइफलाइन’ मानिए पनि मधेसको पुस्ता परिवर्तन भए पनि सडकको अवस्था भने नफेरिएको स्थानीयले बताएका छन् ।

जिल्लाका सरोकारवालाहरुले पटक पटक बैठक बसी हुलाकी सडक निर्माणको ठेक्का पाएका निर्माण कम्पनीहरुलाई ताकेता गरि रहेका भए पनि ठेकेदारले बेवास्ता गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।–रासस