३० आश्विन २०८३, शुक्रबार

बाघले बाख्रा मारेपछि गाउँवासी त्रासमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

कैलाली, १७ साउन । कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिका–७ को कुइने गाउँमा सोमबार साँझ बाघले झम्टेर २१ बाख्रा मारेपछि स्थानीयवासी त्रसित भएका छन् ।

गाउँ नजिकै रहेको कालिका सामुदायिक वन क्षेत्रमा बाख्रा चराउन लगेको अवस्थामा भएको उक्त घटनापछि स्थानीयवासी आतङ्कित भएको सोही वडा निवासी गाउँपालिका उपाध्यक्ष कमलबहादुर साउदले बताए ।

“दुई बच्चासहितको बाघले बाख्रा मारेपछि त्रसित बनेका गाउँवासीलाई सुरक्षित रहन र एक्लै जङ्गल क्षेत्रमा नहिँड्न भनेका छौँ”, उपाध्यक्ष साउदले भने, “बाख्रा मरेर क्षति बेहोरेका किसानलाई गाउँपालिकाले सक्दो राहतको व्यवस्था गर्ने तयारीमा छौँ ।”

एकैसाथ ठूलो सङ्ख्यामा बाख्रा मारेको घटनापछि गाउँमा बाघ पस्न सक्ने भन्दै त्रासमा गाउँवासी छन् । स्थानीयवासी धर्मराज मिजारका छ खसी चार बाख्रा, नवीन बडुवालका चार बोका र चार बाख्रा, पहिला बिटालाका दुई बाख्रा, सावित्रा बडुवालका एक बाख्रा बाघले झम्टेर मारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कैलालीको अण्डैया क्षेत्र आसपासमा समेत बच्चा(डमरु) सहितको बाघले एकहप्ता अघि मात्रै स्थानीय बासिन्दाले पालेका तीन बाख्रा खाएको स्थानीयवासी योगेन्द्र चन्दले बताए । सो घटनापछि वन क्षेत्रमा घाँसदाउरा काट्न एक्लै हिँड्न मुस्किल भएको चन्दले बताए । पछिल्ला वर्षमा वन क्षेत्रमा बाघलगायतका वन्यजन्तुको सङ्ख्या बढ्दै गएको बताइन्छ । –रासस