३० आश्विन २०८३, शुक्रबार

सरकारी शिक्षक कागती खेतीमा रमाउँदा…

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर, १७ साउन । दिनभर विद्यालयमा व्यस्त हुने मीनबहादुर केसी साँझ–बिहान र बिदाको समयमा भने सधैँजसो बारीमै व्यस्त छन् ।

दिनभरको विद्यालयको थकान मेट्ने एउटा माध्यम उनको बारी बन्ने गरेको छ । शान्तिनगर गाउँपालिका–४ गिधनिया निवासी उनले आफ्नो छ कठ्ठा जग्गामा कागती र केराखेती गरेका छन् ।

शान्तिनगर गाउँपालिका–३ स्थित आधारभूत विद्यालय केराघारी लामो समयदेखि प्रधानाध्यापकको भूमिकामा रहनुभएका शिक्षक केसीले आफ्नो बारीमा कागती र केराखेती गरेका छन् ।

“दिनभर स्कुलमा व्यस्त हुन्छु, दिनभरको थकान मेट्न बारीमा व्यस्त हुने गरेको छु”, उनले भने । उनले अहिले छ कठ्ठामा कागती खेती गरेको भए पनि केही समयपछि ११ कठ्ठामा खेती गर्ने लक्ष्य राखेका छन् ।

खेती गरेको एक वर्षको भएकाले तत्काल आम्दानी लिन नसकेको भए पनि केही समयपछि मनग्य आम्दानी गर्ने उनको धोको छ । “तत्कालन आम्दानी लिन सकिएको छैन”, उनले भने, “केही समयपछि मनग्य आम्दानी हुन्छ भन्ने अपेक्षा गरेको छु ।”

दिनमा दुई घण्टा हिँडेर विद्यालय पुग्ने शिक्षक केसी अबको दुई वर्षपछि अवकाश लिँदैछन् । लामो समय एउटै विद्यालयमा पढाउँदै आउनुभएका उनले अवकाश पछि पूर्णरूपमा व्यावसायिक कृषिखेती गर्ने धोको राखेका छन् ।

“म विसं २०४५ देखि शिक्षण पेशामा छु, लामो समय केराघारी स्कुलमा पढाउँदै आएको छु”, उनले भने, “ अवकाशपछि व्यावसायिक कृषिखेती गर्ने सोच बनाएकोे छु ।”

आफू शिक्षक पनि भएकाले आफूले समाजमा कृषि खेतीबाट मनग्य आम्दानी गरेपछि आफ्ना छिमेकीलाई पनि त्यो खेतीतर्फ प्रोत्साहन गर्ने योजना छ । उनले आफू त्यस क्षेत्रको उदाहरणीय किसान बनेर मनग्य आम्दानी गर्ने र त्यसबाट अरूलाई पनि आकर्षित गराउने योजना रहेको उनले बताए ।

पहिलेदेखि नै कृषि खेतीप्रति चासो रहे पनि शिक्षण पेशाले गर्दा त्यस्तो समय मिलाउन नसके पनि पछिल्लो समय भने समय निकालेर व्यावसायिक खेती गर्ने गरेको उनको भनाइ छ । –रासस