३० आश्विन २०८३, शुक्रबार

बेनी–जोमसोम सडक अवरुद्ध

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, १७ साउन । हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क बिच्छेद भएको छ ।

म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

भिरबाट पहिरो खसेर सडक पुरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । पहिराले सडक पुर्नुका साथै कालीगण्डकी नदी बग्ने ठाउँलाई साँघुरो बनाएको छ ।

पहिरो खसेको क्षेत्रमा विस्फोटक पदार्थको प्रयोग गरेर पहाड फुटाएर सडक विस्तार गरिएको थियो । पहिरो खसेपछि म्याग्दीबाट गएका र मुस्ताङबाट बेनीतर्फ आएका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । मानिस पैदल हिँड्न पनि नसकिने भएकाले वैकल्पिक पैदलमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

पहिरो नरोकिँदा र सडक नखुल्दासम्म घाँसाबाट पहिरोथाप्ला म्याग्दीको कोप्चेपानी–गाडपार हुँदै दाना निस्कने वैकल्पिक पैदलमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । स्थानीय बासिन्दा मुस्ताङ भ्रमणमा आएका पर्यटक तथा मुक्तिनाथ दर्शन गर्न आएका भक्तजन सडक अवरुद्ध हुँदा प्रभावित बनेका छन् ।

सांसद प्रेमप्रसाद तुलाचनले पहिरो रोकिएपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाका उपकरण परिचालन गरेर पहिरो पन्छाएर सडक खुलाइने बताए । दुई दिनदेखिको वर्षात्का कारण आएको बाढीले मुस्ताङको कैकुखोलामा सडक बगाएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार रुप्सेखोला र बेगखोलामा पनि सडक अवरुद्ध भएको छ । –रासस