
काठमाडौँ, १६ साउन । तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीका दिनेश पाण्डेले श्रीमती सुनिता र दुई छोराछोरीको ज्यान लिनुअघि लेखेको १० पेज लामो सुसाइड नोट भेटिएको छ।
नेपाल प्रहरी एकजना अनुसन्धान अधिकृतका अनुसार सुसाइड नोटमा दिनेशले यो घटनाको प्रमुख दोषी पत्नी सुनिता पाण्डेका माइतीलाई मानेका छन् ।
आफूले कुवेतमा ११ वर्षसम्म बसेर कमाएको सम्पत्ति श्रीमती र माइतीले कब्जा गरेर आफूलाई सिद्याउन खोजेपछि यति गम्भीर कदम उठाउन बाध्य भएको सुसाइड नोटमा उल्लेख गरेका छन्।
महानगरीय प्रहरी परिसर र काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरेको अनुसन्धानका क्रममा दिनेशको घरबाटै १० पेज लामो सुसाइड नोट भेटेको हो।
के छ नोटमा ?
‘मैले ११ वर्षसम्म कुवेतको तातो घाममा दुख गरेर कमाएको सम्पत्ति श्रीमती र उसका माइतीले कब्जा गर्न खोजेु, उनले सुसाइड नोटमा भनेका छन्, मलाई फसाएर मेरो सम्पत्ति हडप्न खोजिरहे’, दिनेशले लेखेका छन् ।
श्रीमती र श्रीमतीका दाजुहरूले मलाई पटक पटक थुनाएर सबै सम्पत्ति लैजान खोजेकाले यो कदम उठाउन बाध्य भएँ। दिनेशले आफ्ना दुई कलिला सन्तानको ज्यान लिने निर्णयबारे पनि सुसाइड नोटमा उल्लेख गरेका छन् ।
उनले श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गर्ने भएपछि छोराछोरीलाई एक्लै छाड्न नचाहेको बताएका छन् ।
मेरा बच्चाबच्चीको औधी माया लाग्छ, उनले नोटमा भनेका छन्, ‘मैले बच्चा बच्चीलाई मायाले गर्दा सँगै लिएर जान यो कठोर कदम चाल्नु परेको हो ।’ उनले यो घटनाको कारकका रुपमा श्रीमतीलाई नै दोष देखाएका छन् ।
सुसाइड नोटमा दिनेशले श्रीमतीलाई अर्कैसँग सम्बन्धको पनि आशंका गरेका छन् । पाण्डेले आफूलाई मोबाइल समेत हेर्न नदिएको, लुकीलुकी अर्कैलाई म्यासेज र कल गर्ने गरेकाले आफूलाई सम्हाल्न गाह्रो भएको पनि सुसाइड नोटमा उल्लेख गरेका छन् ।
‘मलाई श्रीमतीले मोबाइल पनि छुन र हेर्न दिन्नथी । जति बेला पनि आफैं राख्ने गर्थी। हेर्नै नदिने गरेकाले मलाई शंका लागेको थियो’, उनले भनेका छन्, ‘श्रीमान् भए पनि उसले केयर गर्दैनथी। छि छि र दुरदुर गर्ने अनि हेप्ने गरेकाले मलाई पीडा भएर यो कदम उठाउन बाध्य भएँ ।’















प्रतिक्रिया