३० आश्विन २०८३, शुक्रबार

लसुनले मूल्य नपाएपछि…

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम, १६ साउन । लसुनको पकेट क्षेत्र रुकुम(पूर्व) को भूमे गाउँपालिका–९ स्थित चुनवाङ्मा उत्पादित लसुनले उचित मूल्य नपाएको त्यहाँका किसानको गुनासो छ ।

अहिले बाहिर बजारमा लसुनको मूल्य प्रतिकिलो रु ५० देखि रु ६० पर्छ । चुनवाङ्का लसुन उत्पादक किसान भने प्रतिकिलो ५० मा लसुन बिक्री गर्दा खर्च पनि नउठ्ने भएकाले प्रतिकिलो रु १००का दरले लसुन बिक्री गर्न चाहन्छन् ।

एक किलोको रु १००मा कसैले पनि लसुन खरिद नगरेकाले अहिले लसुन घरघरमै थुप्रिएको चुनवाङका लसुन उत्पादक किसान गञ्जु खड्काले बताउनुभयो ।

अहिले आफूसँग मात्रै १० क्विन्टलको हारहारीमा लसुन भएको उहाँको भनाइ थियो । गत वर्ष १८ क्विन्टल लसुन उत्पादन गर्नुभएको खड्काले अहिले भने उत्पादन घटेको बताउनुभयो । यस वर्ष उचित मूल्य नपाएकै कारण अलिकति पनि लसुन बिक्री नभएको किसान खड्काले बताउनुभयो ।

उहाँकाअनुसार अहिले चुनवाङका प्रत्येक घरमा तीन देखि १० क्विन्टलको हारहारीमा लसुन छ । चुनवाङकै पूर्ववडाध्यक्ष प्रवेश पुनले बजारको मूल्यमा दिने किसानको लसुन बिक्री भइसकेको तर बजार मूल्यभन्दा बाहिरको लसुन बिक्री हुन नसकेको बताउनुभयो ।

बजारमा चलेको मूल्यमा दिने हो भने गाउँभरिको सबै लसुन सङ्कलन गरिदिने तर बजार मूल्यभन्दा महँगोमा लसुन सङ्कलन गर्न नसकिने उहाँको भनाइ थियो ।

यसवर्ष चुनवाङमा ४३२ दशमलब ३५ मेट्रिकटन लसुन उत्पादन भएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो उत्पादन गत वर्षको तुलनमा १२ दशमलव १३ प्रतिशतले बढेको हो । चुनवाङको ७२ हेक्टर क्षेत्रफल जमिनमा लसुन खेती हुँदै आएको छ ।—रासस