
सिड्नी, १५ साउन। अस्ट्रेलियाको मेलबर्नका अवैतानिक महावाणिज्यदूत चन्द्र योञ्जनले आफूबविरुद्ध भ्रम छर्दै मनपरी समाचार प्रकाशित भएकोप्रति आपत्ति जनाएका छन्।
आइतबार एक विज्ञप्ति जारी गर्दै उनले अराजक र अपराधिक मनोवृत्तिका व्यक्तिहरूले तथ्यहीन, भ्रामक र चरित्रहत्या गर्ने नियतका साथ समाचार बनाइ विभिन्न सञ्चारमाध्यममा सम्प्रेषण गरेको योञ्जनले जनाएका छन्।
केही महिना अगाडिदेखि नै सञ्चारमाध्यममा इमेल पठाई भ्रम छर्न खोजिएको विज्ञप्तिमा उल्लेख छ। फेक इमेल आइडी बनाएर पठाइएको यस्तो इमेल र सामाग्री झूठो भएको हुँदा सत्यतथ्य बुझ्नका लागि योञ्जनले अपिल समेत गरेका छन्।
चन्द्र कार्कीका नामबाट दैनिक नेपाललाई पनि योञ्जनविरुद्धको समाचार प्रेसित गरिएको थियो। उक्त विषयमा बुझ्न सम्बन्धित इमेल प्रेषक दैनिक नेपालको सम्पर्कमा आएनन्।
यस्तो छ योञ्जनको विज्ञप्ति
अस्ट्रेलियाको मेलबर्नस्थित नेपाली महाबाणिज्यदूतलाई जोडेर केही अराजक र अपराधिक मनोवृत्तिका व्यक्तिहरूले आफै तथ्यहीन, भ्रामक र चरित्रहत्या गर्ने नियतका साथ समाचार बनाइ विभिन्न सञ्चारमाध्यममा सम्प्रेषण गरेको हामीलाई जानकारीमा आएको छ । यस्ता कुकृत्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
यस्तै इमेल केही महिना अगाडि पनि विभिन्न सञ्चारमाध्यममा पठाएर सञ्चारकर्मीहरूलाई प्रभावित गर्न खोजिएको थियो । तर, फेक इमेल आइडी बनाएर पठाइएको यस्तो इमेल र सामाग्री झुटो भएको थाहा पाएपछि सञ्चारमाध्यमबाट प्रकाशित नभएको व्यहोरा जानकारी गराउन चाहन्छौं ।
यस कार्यालयबाट कारबाहीमा परेका तथा आफ्नो स्वार्थपूर्ति नभएपछि यस कार्यालयको जिम्मेवार पदमा अनुकूलका व्यक्ति राखेर आफ्नो स्वार्थ पूरा गर्ने नियतका साथ यस्ता कपोलकल्पित र अपराधिक कार्य भइरहेको जानकारी गराउन चाहन्छौं ।
यस सम्बन्धमा अस्ट्रेलियन फेडेरल पुलिस, भिक्टोरिया पुलिस लगायत अन्य आधिकारिक संघसंस्थासँग सहकार्य गरी हाम्रो कानुनी समूहले आवश्यक कारबाही अगाडि बढाएको छ । यसर्थ, सत्यतथ्य नबुझी यस्ता भ्रामक कुरा यहाँहरुको सम्मानित मिडियामा प्रकाशित नगरिदिनुहुन सञ्चारकर्मी मित्रहरूलाई हाम्रो बिनम्र अनुरोध छ ।
अस्ट्रेलिया जस्तो नेपालीहरूको बाहुल्यता तीव्र गतिमा बढिरहेको नेपाली समाजलाई सही मार्गमा डोर्याउनु आजको आवश्यकता हो । यसमा सञ्चारमाध्यम र नेपाली समुदायको सदाझैं साथ र सहयोगको हामीले अपेक्षा गरेका छौं । यस कार्यालयका बारेमा केही जानकारी आवश्यक परेमा यस कार्यालयका पब्लिक रेलेसन्स अफिसर तथा मिडिया म्यानेजर निरु त्रिपाठी [email protected] वा मलाई [email protected] मा सम्पर्क गरी दिनुहुन विनम्र अनुरोध गर्दछौं ।
-चन्द्र योञ्जन
अवैतानिक नेपाली महाबाणिज्यदूत
मेलबर्न, अस्ट्रेलिया
३० जुलाई, २०२२















प्रतिक्रिया