
नवलपुर, १४ साउन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान गरेको छ ।
नगरपालिकाको विपद् व्यवस्थापन समितिको निर्णयअनुसार विपद् व्यवस्थापन कोषको रु एक लाख २० हजारमा खरिद गरेको उद्धारमा सहयोगी हुने सामग्री इलाका प्रहरी कार्यालय गैँडाकोटलाई प्रदान गरिएको हो ।
सुरक्षित नागरिक, सुरक्षित समुदायमा टेवा पुयाउने उद्देश्यले नगरपालिकाले फोल्डिङ स्टेचर, लाइफ ज्याकेट, हेलमेट, डोरी, सेफ्टी बेल्ट, गैँची, बेल्चा, त्रिपाललगायतका उद्धारमा सहयोगी हुने सामग्री हस्तान्तरण गरेकोे नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो ।
उहाँले विपद् आउनभन्दा पहिले विपद् आउन नदिने गरी काम गर्ने बताउनुभयो । यस्तै दमकलका लागि देवचुली नगरपालिकासँग सहकार्य भएको र दुई पालिका मिलेर छिट्टै दमकल खरिद गरिने नगरप्रमुख अधिकारीले बताउनुभयो ।
यस्तै गैँडाकोटका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले विपद् व्यवस्थापन कोषमा रु एक करोड बजेट राखिएको बताउनुभयो ।
उहाँले यसअघि रु ८० लाख कोष रकम छुट्याइएको जनाउँदै प्रहरीलाई विपद्मा काम गर्न सहज होस् भनी उद्धारका सामग्री सहयोग गरेको बताउनुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख, प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले अब काम गर्न सहज हुने बताउनुभयो । उहाँले आगामी दिनमा प्रहरी आफू सुरक्षित रहेर जनताको जिउधनको सुरक्षामा खटिन विपद् व्यवस्थापन सामग्रीले सहयोग गर्ने विश्वास गर्नुभयो ।
चितवन र नवलपुर हुँदै बग्ने नारायणी नदीमा बर्सेनि २५ देखि ३० जनाले हाम फाल्ने गरेको भन्दै प्रहरी निरीक्षक श्रेष्ठले आगामी दिनमा पूर्वपश्चिम राजमार्गका कारण आउने समस्यामा नागरिकलाई सहज बनाउन सकिने बताउनुभयो ।–रासस















प्रतिक्रिया