
काठमाडौं, १३ साउन । नेपाल अलैँची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग (एस.डि.सी.) को सहयोगमा होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा ‘वाह ! अलैंची’ अभियान शुभारम्भ गरेको छ ।
यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्न केन्द्रित रहेको छ । यो अभियानले नेपाली अलैंचीको परम्परागत मूल्य र नेपाली परिकारमा यसको प्रयोगलाई महत्वपूर्ण सामग्रीका रुपमा बढाउने मात्र नभई आर्थिक गतिविधिहरु समेत बढाउनेछ ।
बेलायतको रियालिटी कुकरी टिभी शृंखला बीबीसी मास्टर सेफः द प्रोफेशनल रिम्याचका विजेता, शेफ सन्तोष शाह, यस वाह ! अलैंची अभियानको ब्रान्ड एम्बेसेडर हुन् । उनले नेपाली अलैंचीलाई घरेलु बजारमा प्रवर्द्धन गर्न विशेष परिकार रेसिपीहरु पनि तयार गर्नेछन् ।
साथै, यो अभियानले युवा आकांक्षी प्रशिक्षार्थीहरू र शेफहरूलाई आफ्नो पाक कलामा अभिवृद्धि गर्न र नेपाली अलैंचीलाई नयाँ तरिकाले प्रयोग गर्न मञ्च पनि प्रदान गर्नेछ ।

नेपालमा विश्व बजारको ट,टण्ण् मेट्रिक टन अलैंची उत्पादन हुन्छ, जुन पूर्वको पहाडी जिल्लाहरूको कृषकहरूका आम्दानीको मुख्य स्रोत हो ।
तर, नेपाली अलैंचीको प्रयोग घरेलु बजारमा बढेको छैन, बरु भारतलगायत अरु मुलुकबाट शतप्रतिशत आयात हुने सुकमेलले प्रतिस्थापन गरिरहेको छ । सन् २०२१ मा सुकमेलको आयात ५६४ मेट्रिक टन थियो भने नेपाली ठूलो अलैंचीको आन्तरिक बजारमा खपत १०० टनभन्दा कम थियो ।
त्यसैगरी, नेपाली उपभोक्ताले एक सय ग्रामको रु. १०० देखि रु. १५० सम्ममा खुद्रा बिक्री हुने नेपाली अलैंचीको मूल्यको तुलनामा अहिले १०० ग्रामको सुकमेलको रु. ४०० देखि रु. ५०० सम्म बढी मूल्य तिरिरहेका छन् ।
नेपाल अलैंची व्यवसायी महासंघको बारेमा
नेपाल अलैंची व्यवसायी महासंघ नेपालमा अलैंची व्यवसायी/उद्यमीहरूको छाता संगठन हो । यो २०६४ (२००८) मा स्थापना भएको हो । नेपाल अलैंची व्यवसायी महासंघको केन्द्रीय कार्यालय झापा जिल्लाको बिर्तामोडमा रहेको छ ।
नेपाल अलैंची व्यवसायी महासंघमा एक हजार एक सय भन्दा बढी सदस्यहरू (निर्यातकर्ता, व्यापारी, सङ्कलनकर्ता र किसानहरू) आवद्ध छन् ।

देशभर एक लाख २५ हजार भन्दा बढी किसान परिवारहरूले अलैंची उत्पादन गर्दै आएका छन्, नेपाल अलैंची व्यवसायी महासंघले मूख्यतया आफ्ना सदस्यहरूलाई उत्पादन, गुणस्तर सुधार र बजार पहुँचको सुविधाका लागि समन्वय गर्ने गरेको छ ।
होटल एसोसिएसन नेपाल (हान)को बारेमा
होटल एसोसिएसन नेपाल (हान) नेपालका तीनसय भन्दा बढी होटल, रिसोर्ट र गेस्टहाउसहरुको प्रतिनिधित्व गर्ने आतिथ्य उद्योगको अग्रणी प्रतिनिधि संस्था हो। हान नेपालका होटल व्यवसायीहरूको आधिकारिक प्रतिनिधि हो जसले तिनीहरूको वैध हितको रक्षा गर्दछ र यसका सदस्यहरू बिच एकता र सहयोगलाई बढावा दिन्छ ।
५३ वर्ष भन्दा बढी समयदेखि हामीले हाम्रा सदस्यहरूलाई सरकारहरूसँग उच्च प्रोफाइल बनाएर, रणनीतिक र बजारीकरणका नवीनतम कार्यक्रमहरू विकास एवं सञ्चालन गरेर, सञ्जालहरु सिर्जना गरेर, तिनीहरूको सरोकारलाई उठाएर र हालको उद्योगहरुको बारेमा जानकारी र स्रोतहरू प्रदान गरेर उनीहरूको व्यवसायमा वृद्धि गर्न मद्दत गरेका छ ।
स्वीस सरकार विकास सहयोग (एस.डि.सी.)को बारेमा
नेपालको विकास र सहयोगका लागि स्वीस सरकार विकास सहयोग (एस.डि.सी.)को प्राथमिकतामा रहेको नेपालसँगको घनिष्ठ सहयोग र साझेदारीको साठी वर्षभन्दा लामो इतिहास छ ।

नेपालमा स्विस सरकार विकास सहयोगले विशेष गरी महिला र पिछडिएका जनताको सामाजिक–आर्थिक विकासलाई बढावा दिने र दिगो र समावेशी संघीय संस्थाहरूको निर्माणमा मद्दत गर्दै मुख्यतया प्रदेश र स्थानीय तहमा कार्यक्रमहरुको कार्यान्वयनलाई केन्द्रित गर्छ ।















प्रतिक्रिया