जब भूँइचालोले पुरै थर्कमान थियो । कम्पित मनले अकस्मात गौतम बुद्धलाइ सम्झियो, ‘बुद्ध तिम्रो देशमा अशान्ति मच्चिरहेछ । तिमीले त विश्वमा शान्तिको सन्देश फैलायौं, फेरि किन तिम्रै देशमा खाली यस्तो भइरहन्छ ?’ भूँइचालो रोकिएन, गइरह्यो । म टेबुलमुनि रहिरहे ।
टेबुलमुनि रहँदै मैले सोच्न भ्याइसकेको थिएँ, ‘भूँइचालो गयो अव काठमाडौं नै भष्म हुन्छ । किनकी यहाँको शहरीकरण नै अव्यवस्थित छ । अहो ! अब के हाल हुने होला ?’ सोच्दासोच्दै भूँइचालो थामियो । भूँइचालोको धक्काले न म बसेको घर केही भयो, न त मलाई नै कुनै असर पुर्यायो । सहकर्मी मित्रले भन्दै थिए, ‘हैन यो न्यूज त अनलाइनमा पोस्ट गर्नुपर्छ ।’ कम्प्युटर चेक गर्दा, नेट छैन । हतारहतार बाहिर निस्किएँ ।
अलि तल झर्दा, अर्को दर्दनाक दृष्य । दिउँसोको तीन बजिसकेको थियो । सडकमै थियो बीर हस्पिटल, सडकमै चार वटा हस्पिटलका बेड थिए । एक जना बृद्धा बेडमा सिथिल थिइन् । उनको अवस्था त के हेरिसक्नु थियो हुनु । मैले डाक्टरलाई सोधे, ‘डेड बडी हो ।’ बुढीआमाले पिलिक्क हेरिन् । उनको अनुहारभरी रगत थियो । सामान्य उपचार गरेर उनलाई कुन्नी कुन हस्पटलतिर हो डौदाइयो ।
यसै त कोलाहालपूर्ण राजधानी । त्यसबेला महाकोलाहाल चर्किएको थियो । सबैमा उही डर र उस्तै त्रास । बागवजार क्षेत्रमा घरहरु सामान्य चर्किनुबाहेकको ठूलो क्षति पुगेको थिएन । म यतिमा चाँहि ढुक्क भएँ, ‘भूकम्प त आयो, तर देश बचेछ ।’
सडकमा मानिसहरुसँग प्रतिक्रिया लिँदै गर्दा अपुष्ट खबरहरु मेरा कानमा ठोक्किन शुरु भए । धराहरा ढल्यो, ललितकला क्याम्पस भत्किएर दर्जनौँ पुरिए । धराहरा कसरी ढल्न सक्छ ? मलाई यी सब हल्ला हुन् जस्तो लाग्यो । कवि भूपि शेरचनले पनि भनेको थिए, ‘यो हल्लै हल्लाको देश हो ।’ हो मलाई पनि त्यस्तै लाग्यो ।
म बागबजारबाट रत्नपार्कतिर तेर्सिए । सदाबहार सवारी साधनले जाम हुने सडक, त्यतिबेला मानिसहरुको हुलले टम्म थियो । मानिसहरु जता पनि भुँइचालोकै चर्चामा भेटिन्थे । त्यतिवेला यस्तो लाग्थ्यो, नेपालीहरुको अरु कुनै काम नै छैन ।
जब म असन छिर्ने पुल नजिकै पुगेँ, जे देख्न नपर्ने थियो, त्यही देखेँ । ललितकला साँच्चिकै भत्किएछ । सर्बसाधारण र प्रहरी भग्नावशेषबाट ढुंगा निकाल्दै थिए । सायद त्यहाँ पुरिएका मानिसहरुको खोजी हुँदै थियो । आकाशे पुल उक्लिए, अनि रानीपोखरीतिर आँखा दौडाए । रानीमहल पनि भ्वाङ परेछ । बल्ल लाग्यो भुुँइचालो त ठूलै पो गएछ ।
ललितकलामा भएको क्षतिबारे एक प्रहरीलाई सोधे, उनले भने, ‘पाँच वटा लाश त हामीले नै निकालियो, धेरै गम्भीर घाइते भएका छन् ।’ फेरि भुँइचालोले तर्सायो, उद्दारकर्ताहरु भागाभाग गरे, ललितकलाबाट अर्को ढिस्को झ¥यो ।
अकाशमा चराहरु बेग बेगले उडिरहेको थिए । उनीहरुको चिच्याहट हेलिकप्टरको आवाजसँगै गुमनाम थियो । सडकमा एम्बुलेन्सको साइरन मात्र सुनिन्थ्यो । पुरै सन्नाटा छाएको थियो । त्यतिवेला आफैले आफैलाई प्रश्न गर्यो, ‘त सपनामा छस् कि, बिपनामा ?’
साँच्चै ढल्यो त धराहरा ? यो जिज्ञासा मेट्न म धराहरातिर लाग्दै थिएँ । असनतिरबाट निकालिएको घाइतेलाई एम्बुलेन्समा राखेर दौडाउँदै थिए । उसको शरीर रगतपिच्छे थियो । ठूलो चोटमा सायद दुख्दो रहेनछ क्यारे । उ चुपचाप थियो । बरु म पो दुख्न थालेँ । मेरो मुटुले ढेँग्रो ठोक्न शुरु गर्यो ।
अलि तल झर्दा, अर्को दर्दनाक दृष्य । दिउँसोको तीन बजिसकेको थियो । सडकमै थियो बीर हस्पिटल, सडकमै चार वटा हस्पिटलका बेड थिए । एक जना बृद्धा बेडमा सिथिल थिइन् । उनको अवस्था त के हेरिसक्नु थियो हुनु । मैले डाक्टरलाई सोधे, ‘डेड बडी हो ।’ बुढीआमाले पिलिक्क हेरिन् । उनको अनुहारभरी रगत थियो । सामान्य उपचार गरेर उनलाई कुन्नी कुन हस्पटलतिर हो डौदाइयो ।
एक जना युवकको टाउकै चिरिएको थियो । जता हेर्यो विभत्स दृष्य । कसैले स्टेचरमा ल्याउँदै थिए । उनीहरुको हात एकातिर खुट्टा अर्कोतिर फर्किएको थियो । एम्बुलेन्समा हेर्यो त्यस्तै । मानिसहरुको क्षत विच्छेद हविगतले मेरो हृदय पनि क्षतविक्षत बन्दै थियो । आँखा रसाउन थाले । भुँइचालोले फाटेको धर्ती जस्तै मेरो पनि ध्वजाध्वजा भएको थियो । त्यस्तो विभत्स दृष्यले कुन चाँहि नेपालीको पो मन नपोल्ला र ?
अष्ट्रेलियन गायिका स्वयम् सेवक
मलाई धराहरा पुग्ने तीव्र चाहाना जाग्यो । सडक बीचको सानो रेखामा सवारी हुँइकाइदै थियो । मासिन चढेर होइन, घाइते र लाश राखेर । दायाँ बायाँ मानिस खाँजिएका थिए । कोही भीड नियन्त्रणमा लागिरहेका थिए, स्वंमसेवक बनेर । ती स्वंमसेवकको आग्रहलाई उल्लंघन गर्ने नेपाली पनि थिए । त्यही भीडमा देखिए अष्ट्रेलियन गायिका, जेयरजिना स्तुपा । उनले नेपालीलाई अनुशासन सिकाउँदै थिइन । केही नेपालीहरु उनलाई छलेर बीच बाटोतिर जान लाग्दा, जेयरजिनाले ‘दिस ओए, दिस ओए’ भन्दै चिच्यारहेकी थिइन् । उनको साथीले भने, ‘जेयरजिनाले नेपाललाई निकै माया गर्छिन् । नेपालबारे गीत गाउनको लागि उनी नेपाल आएकी हुन् ।’ उनको नेपाल आगमन पाँचौ पाटकको रहेछ ।
धराहरासँगै भाँचिएको मन
म धराहरातिर लम्कँदै गर्दा भोलिन्टियरको रुपमा खटिएका दुई जनाले रोके । प्रेस कार्ड देखाएँ । अहँ छिर्न दिएनन् । एकपटक रिस पनि उठ्यो । फेरि मर्माहत नेपालीसँग रिसाउनुको के अर्थ । अर्को एक जनाको सहारामा धराहरातिर लागेँ । धराहरा त साँच्चै पो ढलेछ । धराहरा देख्दा आफै ढलेजस्तो लाग्यो ।
पत्रकारिताको धर्म छाडिन । धराहराबारे बुझ्ने प्रयास गरेँ । प्रेम थापा भन्दै थिए, ‘हामीले कैयौँ लास निकाल्यो । घाइतेलाई हामीलेनै हस्पिटलसम्मै पु¥यायौँ । धराहरामा पुरिएका मानिसको शरिर हेर्न लायकनै थिएन ।’ कुरा गर्दै गर्दा एक जनालाई स्टेचरमा हालेर दौडाउँदै थिए । धुलोमा पौडिएको उसको शरिर कच्याककुचुक थियो । राम्रो सँग हेर्न पनि सकिन ।
धराहरा ढलिसकेको थियो । धराहराको जरामा धेरै मानिसहरु खोज्दै थिए, कतै कोही जिउदो भेटिन्छन् कि भनेर । तर निकाल्थे स्वास उडिसकेका मानिसहरुलाई । र, पनि हस्पिटलतिर डौदाउँथे । कति धराहराहराबाट काठमाडौँ हेर्दै ढले, कति धराहराको भित्ता हेर्दै गले ।














प्रतिक्रिया