१ कार्तिक २०८३, शनिबार

निमोनियाबाट २२ दिने ‘केटो’को मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ साउन । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अमलटारी सेक्टरबाट उद्धार गरिएको गैँडाको बच्चा (केटो)को मृत्यु भएको छ ।

करिब एक हप्ता अगाडि अमलटारीबाट उद्धार गरेर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा लगिएको केटोको निमोनियाका कारण मृत्यु भएको जनाइएको हो ।

कोषका भेटेरिनरी चिकित्सक डा अमीर सडौलाका अनुसार अन्दाजी २२ दिनको भाले बच्चाको बिहीबार मृत्यु भएको हो । “एक हप्ताअघि हामीले उद्धार गरेर कोषमा ल्याउँदा नै उक्त केटो अस्वस्थ थियो”, उहाँले भन्नुभयो, “उद्धार गर्ने क्रममा बच्चा कामिरहेको थियो, केटोलाई निमोनिया भएको हामीले अनुमान गरेका थियौँ ।”

मृत्युपछि गरिएको पोष्टमार्टम रिपोर्टमा पनि निमोनियाका कारण निधन देखिएको चिकित्सक सडौलाले जानकारी दिनुभयो । बिरामी भएर हिँड्न नसकेपछि त्यो केटोलाई आमाले छाडेको हुनसक्ने कोषको अनुमान छ ।

“हामीले यहाँ ल्याउँदा नै उ कामिरहेको थियो”, उहाँले भन्नुभयो, “तर हामीले बचाउन सक्छौँ कि भनेर सक्दो कोसिस गरिरहेका थियौँ ।” माउसँग छुटेका गैँडाका साना बच्चा बचाउन एकदमै मुस्किल हुने गरेको कोषका प्रमुख डा बाबुराम लामिछानेले बताउनुभयो ।

अमलटारीस्थित चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरले एक हप्ताअघि गैँडाको बेवारिसे बच्चा जङ्गलबाट उद्धार गरेर कोषको जिम्मा लगाएको उहाँको भनाइ थियो ।

असारको २२ गते गैँडाको बेवारिसे बच्चा देखेका अमलटारी सेक्टरका कर्मचारीले उसकी आमा आएर लिएर जाने आशमा दुई दिनसम्म निगरानीमा राखेका थिए ।

केटो छोडेर गएको माउ दुई दिनसम्म पनि नआएपछि निकुञ्जको अमलटारी सेक्टरले उद्धार गरेर राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा २४ लगेर उपचार तथा रेखदेख सुरु गरिएको थयो ।

यसअघि निकुञ्जको विभिन्न स्थानबाट उद्धार गरेर लगिएको पुष्पा र अञ्जली नामका गैँडा कोषको परिसरमा हुर्किरहेका छन् ।–रासस