१ कार्तिक २०८३, आइतबार

अन्तर्राष्ट्रिय गणित ओलम्पियाड-२०२२ मा स्वीकृति आचार्यको नयाँ रेकर्ड, कपिल शर्मा पुरस्कृत

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालका स्वीकृति आचार्य र कपिल शर्मा नर्वेको ओस्लोमा भएको ६३ औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाड-२०२२ मा अनरेबल मेन्सनबाट पुरस्कृत भएका छन् ।

यसअघि २०१९ मा बेलायतमा भएको प्रतिस्पर्धामा कार्तिकेश मिश्र र २०२१ मा रसियामा भएको प्रतियोगितामा युवराज सरदाले पनि यो पुरस्कार पाएका थिए ।

शनिबारसम्म रहने प्रतियोगितामा विश्वभरका १०४ देशहरुको सहभागीता रहेको छ । जसमा नेपालबाट ६ जना विद्यार्थीहरु सहभागी रहेका छन् ।

नेपालबाट प्रतियोगितामा भाग लिन नेपाल गणित संघका अध्यक्ष दीपक बास्तोलाको नेतृत्वमा संघका महासचिव सनत आचार्य र कोषाध्यक्ष छवि ढुंगानासहितको टोली ओस्लो पुगेको थियो ।

सन् १९५९ देखि हुँदै आएको यस प्रतियोगिता प्रत्येक वर्ष हुने गर्दछ ।

नेपालले भने नेपाल गणित संघको पहलमा सन् २०१७ देखि सहभागीता जनाउँदै आएको संघका अध्यक्ष बास्तोलाले जानकारी दिए ।

नेपालको यो छैटौँ सहभागिता हो । नेपाललाई प्रतियोगितामा सहभागीता गराउन गणितविज्ञ भद्रमान तुलाधरको विषेश भूमिका रहेको बास्तोलाको भनाइ छ ।

प्रतियोगितामा छनोटका आधार

प्रतियोगितामा २० वर्ष मुनिका स्नातक तहमा भर्ना नभएका विद्यार्थीहरुले सहभागिता जनाउन पाउँछन् ।

नेपालमा यस प्रतियोगितामा सभागीताका लागि संघको आयोजनामा देशभरबाट ५ हजार विद्यार्थीहरुले परीक्षा दिएका थिए ।

जसबाट अन्तिम परीक्षामा छनोट भएका ६ जना विद्यार्थी प्रतियोगितामा पुगेका हुन् ।

एउटा देशबाट बढिमा ६ जनाले मात्रै भाग लिन पाउँछन् ।

प्रतियोगिताको परीक्षा

दुई दिनसम्म चल्ने प्रतियोगिताको परीक्षामा प्रत्येक दिन तीन–तीनवटा गरी जम्मा ६ वटा प्रश्न सोधिन्छ । जसमा तीनवटा प्रश्न समाधानका लागि साढे ४ घण्टा दिइएको हुन्छ । प्रत्येक प्रश्नको अंकभार सात हुन्छ ।

प्रतियोगितामा सहभागीमध्ये करिब ५० प्रतिशतले पदक प्राप्त गर्छन् । १ः२ः३ को आधारमा स्वर्ण, रजत र कास्य पदक वितरण गरिन्छ ।

त्यस्तै, प्रतियोगिताको अर्को सुन्दरता भनेको कुनै एक मात्र प्रश्नको पूर्णांक प्राप्त गरेमा पनि विद्यार्थीलाई पुरस्कृत गरिन्छ । यस किसिमको सम्मान नेपालबाट हालसम्म ४ जनाले प्राप्त गरेका छन् ।

६४औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाड जापानमा

नर्वेको ओस्लो विश्वविद्यालयले ६३ औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाड २०२२ आयोजना गरेको छ । अब ६४औँ ओलम्पियाड २०२३ को आयोजना जापानले गर्नेछ । जसका लागि यही साउनबाट छनोट प्रक्रिया सुरु हुने अध्यक्ष बास्तोलाले जनाए ।

स्वीकृति आचार्यद्वारा नेपालको नयाँ रेकर्ड

यसपालिको प्रतियोगितामा नेपालबाट स्वीकृति आचार्यले नेपालका लागि नयाँ रेकर्ड राखेकी छन् । यसअघि २०१९ मा बेलायतमा भएको प्रतिस्पर्धामा कार्तिकेश मिश्रले नौ अंक प्राप्त गरी उच्च रेकर्ड राखेका थिए भने आचार्यले १० अंक प्राप्त गरी नेपालको नयाँ रेकर्ड बनाएकी हुन् । यसैगरी कपिल शर्माले आठ अंक प्राप्त गरेका छन् ।

नेपालबाट प्रतियोगितामा भाग लिने को-को ?

नेपालबाट ६३ औँ अन्तर्राष्ट्रिय ओलम्पियाडमा भाग लिएका विद्यार्थी दर्शन केसी, स्वीकृति आचार्य, रौनकरञ्जन मिश्र, कपिल शर्मा, विवेक यादव, प्रागेश पौडेल रहेका छन् ।

प्रतियोगिताको सबल पक्ष

यस प्रतियोगितामा आफ्नो देशलाई प्रतिनिधित्व गर्दै सहभागी हुने विद्यार्थीलाई स्नातक अध्ययन गर्नका लागि स्वदेश तथा विदेशका विश्वविद्यालयमा अध्ययनका लागि छनोट हुन सजिलो हुन्छ ।

त्यसैगरी, धेरैजसो विद्यार्थीले पूर्णछात्रवृत्तिमा विश्वकै उत्कृष्ट विश्वविद्यालयहरूमा अध्ययन गर्ने अवसरसमेत प्राप्त गर्ने गरेको नेपाल गणित संघका अध्यक्ष बास्तोलाले जनाएका छन् ।