३० आश्विन २०८३, शुक्रबार

भूकम्प पीडित भन्छन्–‘एक गाँस र बाँस राहत पाउन नेताहरुको चाकडी गर्नुपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gorkha-rahat (8)

– नरेश केसी
गोरखा, २० वैशाख । प्राकृतिक विपत्तिमा परेको गोरखा जिल्लाका बासिन्दालाई राहत पुराउने उद्देश्यले यतिबेला स्वदेशका विभिन्न ठाऊ तथा विदेशी राहत सामग्री बोकेका दश चक्के ट्रकहरुका कारण गोरखा सदरमुकाममा ट्राफिक जाम सृजना भएको छ ।

भिरालो परेको भौगोलिक अवस्था भएको गोरखा सदरमुकामको शहिद गेटबाट छिर्ने दश चक्के ट्रकहरुको घुइचो नै छ । टा«फिक प्रहरीलाई सडक व्यववस्थापन गर्न हम्मे हम्मे परेको छ । स्वदेशी तथा विदेशी मानिसहरुले आफ्नो छांक काटेर प्रदान गरेको राहत सामग्री र नगद रकम बोकेर राहत संकलकहरु गोरखा जाने होडबाजीमा छन् ।

गोरखा सदरमुकाम भित्रीने राहत सामग्री बोकेका ट्रकहरु देख्दा लाग्छ भुकम्प पीडित मात्रै होइन सिंगो गोरखाली जनताहरुलाई एक एक ट्रली राहत पनि पुग्दछ । तर विडम्बना वास्तविक भुकम्प पीडितले राहत सामग्री पाउन नसकेको गुनासो आइरहेको छ ।

gorkha-rahat (9)समाचार संकलनको लागी गोरखाको नारेश्वर, बक्रांग, स्वारा गाउँमा पुगेका हामी सञ्चारकर्मीसँग स्थानिय जनताले गुनासो गर्दै भने–‘सयौं मानिसले राहत दिएका छन् भन्ने सुनेका छौ तर त्यो राहत सामग्री कहाँ गएको छ कुन्नी ?’

भूकम्प पीडितहरुकोलागी आएको राहत सामग्री जिल्ला विकास समितिको कम्पाउण्ड भित्र थन्काईएको छ । जिविसमा सर्वदलिय संयन्त्र मार्फत राहत वितरण गर्ने भन्दै फारम भर्ने, भूकम्प पीडितहरुको लगत भर्ने काम पनि पहुँचको भरमा भएको देख्न सकिन्छ ।

हामी जिविस परिषद कार्यलय पुग्दा एकजना संयन्त्रका सदस्य पीडितसंग बम्किदै थिए–‘राहत सामग्री के तिम्रो बाऊको होर ? भन्ने वित्तिकै दिने । पालो आउंछ अनि दिन्छौ । तिमी बाहिर बस जाउ ।’

gorkha-rahat (6)राहत सामग्रीको लागी गोरखा सदरमुकामदेखी ३५ किलोमिटर उत्तर ताकाकोट गाविसका नयन केसी लगायतको भूकम्प पीडितहरु सदरमुकाम धाएको धेरै दिन भयो । जिविसमा पहुँच नपुग्दा राहत नपाएको उनले गुनासो गरे ।

उनले भने–‘१३ सय घर नष्ट भएको ताकाकोटमा अहिलेसम्म १ सय त्रिपाल मात्रै पुगेको छ । पानी परिरहेको छ, रुझ्दै भिज्दै आलप विलाप गर्नुबाहेक केही विकल्प छैन् । यहाँ आयो नेताहरुको चाकडी गर्नुपर्दोरहेछ । एकजनाको सोर्स लगाएर केही राहत पाउने आश्वासन पाएका छौ ।’

राहत सामग्रीको डगुंर थुप्रीएको जिविस गेट बाहिर भेटिएका २२ किलोमिटर पुर्वी दक्षिण गाउँ बक्रांगका ६१ बर्षीय विर्खबहादुर आलेलाई राहत लिन आउनु भएको होकी भनी हामीले सोध्दा भन्दै थिए–‘हो हजुर यहाँ चामल दाल पाइन्छ रे, त्रिपाल पाइन्छ रे भनेर आएको । खै कता हो कता ? भित्र पुलिसले जान दिन्न । तर भित्रका मान्छेले ट्याक्टरका ट्याक्टर समान लोड गरेर आइरहका छन् ।’

gorkha-rahat (4)उनलाई हामीले सोध्यौ तपाई भित्र जानु भएन त ? उनको जवाफ थियो–‘धेरै चोटी पुलिसलाई भित्र जान देऊ भन्यौ तर पाईदैन भन्छ । ठुला बडाले लगिरहेका छन्, यो गरिबलाई त कसले हेर्ने ? बरु तपाईहरुले लिनु भएको छ भने केही दिनुप¥यो हजुर ।

उनले धेरै बेदना सुनाए हामीलाई । उनको बेदना सुनेपछि रुपन्देहीबाट राहत सामग्री लिएर गएको सिद्धार्थ उद्योग वाणिज्य संघलाई अनुरोध गरी हामीले केही बोरा चामल, दाल, चाऊचाऊ र त्रिपाल दिलायौं ।

यसरी राहत लिनको लागी जिविसको गेटमा कुर्नेहरुको धुईरो नै छ । भित्र जिविसको परिसरमा स्थानीय दलका नेताहरु कुर्सी बेन्च लगाएर बसाएका छन् । उनीहरु मध्यै कुनै तीन जनाले जसलाई तोक आदेश लगाईदिन्छ त्यसैले मात्रै राहत पाइरहेको देखिन्थ्यो ।

जसले नेताहरुको तोक लगाउन सक्थे उनीहरु त्यो तोक आदेशको फर्म बोकेर भित्र गोदामतिर जान्थे र गोदाममा भएका सेना प्रहरीलाई देखाएर राहत लिएर फर्किन्थे ।

पहुँच नभएकाहरु गेटबाट भित्रै छिर्न नसकिरहेको देखिन्थ्यो भने कसोगरी छिरीहाले भने पनि नेताहरुको चाकडी गर्न मुश्किल थियो । त्यसैले जसोतसो भित्र छिरेकाहरु नेताहरु रस्साकस्सी गरिरहेको पनि हामीले देख्यौ ।

gorkha-rahat (5)जिविस परिसरमा राहत सामग्री अस्तव्यस्त रुपमा राखिएको छ । गाडिका गाडी राहत सामम्री जिविस परिसरमा थन्काईएको छ तर बाहिर गेटमा मानिसहरु एक छाककोलागी तड्पीरहेका छन् । स्थानिय प्रशासन यस विषयमा बोल्न चाहदैन् ।

गोरखा उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठले दलका नेताहरुको कारण राहत सामग्री वितरणमा पारदर्शिता नहुनुको कारण खुलाउदै भने “दलिय दलाली नै मुख्य समस्या हो ।’

स्थानिय नारेश्वर गाविसकी कल्पना थापाले राहतको लागि धाउदा धाउदै थकित भएको भन्दै भनिन्–‘खै राहत आएको देखिन्छ तर कसकोलागी हो कुन्नी ?’ स्वाराकी सृजना अधिकारी टाठा बाठाहरुले राहत पाएको तर सोझा साझाले नपाएको बताईन् ।

गोरखामा राहत त गएको छ तर कहां गएको छ पारदर्शिता हुनु जरुरी देखिन्छ । वास्तविक भूकम्प पीडितले राहत पाउनु पर्दछ । नकी राजनीतिक दलका नेताहरुको चाकडीको आधारमा ।

जिल्ला प्रशासनले यस तर्फ ध्यान आकृष्ट गर्नु जरुरी छ । हामीले दाताले दिएको राहत सामग्रीमा दलीय दलाली बढेछ नी भनी स्थानिय प्रशासनमा सम्पर्क राख्न खोज्दा कोही पनि सम्पर्कमा आउन चाहेनन ।