दोहा । गत शनिवार नेपालमा आएको विनाशकारी भूकम्पबाट पीडित भएका नेपालीलाई सहयोग गर्न विश्वभर रहेका प्रवासी नेपाली राहत संकलनमा लागेका छन् । त्यही क्रममा कतारमा रहेका नेपाली इन्जिनियरहरुले पनि राहत संकलन गरेका छन् ।
कतारमा रहेको नेपाल इन्जिनियर एसोसिएसनले महाभूकम्पले ल्याएको विपत्तिमा राहत जुटाउदै पहिलो चरणमा संकलित पाँच लाख रुपैयाँ राहत कोषमा नेपाल पठाएको छ ।
‘भूकम्पको पीडाले तड्पिएको नेपाल र नेपालीको लागि सहयोग गरौ’ भन्ने छलफलमा नै सहयोग जुटाउने कार्य सुरु गरेको एसोसिएसन सचिब इन्जिनियर नन्द प्रसाद गर्बुजाले जानकारी दिए ।
भूकम्प पीडितको सहयोगको लागि नै एसोसिएसनले ईन्जिनियर प्रेम शर्मा लम्सालको संयोजकत्वमा ६ सदस्यीय राहत संकलन समिति गठन गरि सहयोग संकलन कार्य अगाडी बढाएको थियो ।
जसमा सदस्यहरुमा ईन्जिनियर बिरेन्द्र कुमार शाह, नन्द प्रसाद गर्बुजा, विवेक बहादुर शाह, शक्ति सापकोटा, श्वेता केके र रुपेश सिंह रहेका छन् ।
राहत संकलन समतिले राहत संकलन गरी आइतबार ४ लाख ८३ हजार २९५ रुपैयाँ प्रधानमन्त्री राहत कोष मार्फत नेपाल पठाएको छ । सो रकम अन्तरिक रुपमा नै संकलित भएको जनाउँदै दोस्रो चरणमा अझै बृहत रुपमा राहत संकलन गरिने इन्जिनियर गर्बुजाले बताए ।
‘सबै भन्दा ठुलो धर्म सेवा हो’ अझै विपतको बेला गरिने सेवा त महाधर्म हुने गर्छ । अहिले नेपाललाई पनि सहयोगी हातहरुको जरुरत छ । इन्जिनियर एसोसिएसन कतारले पनि पीडितको घाउमा मलम लगाउने कोसिस गरेको छ ।
















प्रतिक्रिया