२९ आश्विन २०८३, बिहिबार

भूकम्पको आतंकमा काठमाडौँ बसाईं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sudip-Ghimire

मंगलवार सबेरै काठमाडौँको यात्रा तय भयो । उद्देश्य थियो, नेपालमा शनिवार गएको भूकम्पले प्रभावित व्यक्तिहरुको लागि आपतकालिन मनोसामाजिक सहयोग गर्न । घरवाट निस्कन मलाई धेरै कठिन भयो । परिवारले काठमाडौँ जानको लागि अनुमति सजिलै दिएनन् । श्रीमती भन्दै थिइन– ‘दुई दिनभित्र फर्केने भए जानुहोस्, नत्र नाई !’ काठमाडौँमा दाई, दिदीहरुलाई आउँदै छु भन्दा यस्तो पीडामा बस्न किन आउने भनि गाली गर्थे । केही हुँदैन भन्दै मंगलवार पोखराबाट निस्केँ । आइतबारै काठमाडौँ जान कार्यालयबाट जिम्मेवारी पाएको थिएँ । अरु साथीहरु गोर्खा, लमजुङ, कास्की लागि सकेका थिए । मेरो झोला आइतवारदेखिनै तयारी अवस्थामा थियो । आइतबार पूर्वतयारी गर्न समय लागेकोले भ्याइएन । सोमवार राम्रोसँग काम गर्नु भन्दै कार्यालयका अग्रजले फुल दिएर बिदाई गर्नुभयो । सँगै जाने भनेको साथी आएनन् । एक्लै यस्तो बेला के जानु भनेर सोमबारको साइत पनि जुरेको थिएन् । कोठाबाट काठमाडौँ जान निस्केको भन्दा धेरैले जिब्रो टोके । साइत गर्दा जाने मौका नमिल्दा केही भइहाल्ने हो कि भन्ने मनमा डर पनि थियो । त्यहीमाथि श्रीमती भन्थिइन्– ‘यस्तो वेला सँगै बस्नुपर्छ । समस्याकै बाबजुद आइयो काठमाडौँ ।’

पोखरामा हुँदै काठमाण्डौको बारेमा धेरै चर्चाहरु हुन्थे । सुनेको थिएँ, पानी छैन् । खानेकुरा छैन्, हाहाकार छ भनेर । त्यही समस्या होला भनि ३ हजार रुपैँयाको औषधी, खानेकुराहरु झोलामा किनेर राखेँ । त्यस्तो सामान देख्दा मेरो श्रीमती विदेशै जान लागेको अनुभुति भएको सुनाउँदै थिइन् । संयुक्त राष्ट्रसंघीय कार्यालयसँग काम गर्दा आफ्नो सुरक्षा कसरी गर्ने भन्ने हल्का अनुभव भएकाले खासै डरको अनुभव भएको थिएन । नयाँ ठाउँमा काम गर्न बढी जिम्मेवारी लिन खोज्ने मेरो बानी भएकाले काठमाडौँ भन्दा सजिलै स्वीकार गरेको थिएँ । हजारौ मान्छे घाइते र मरेको देख्दा उनीहरुमा डर हुनु स्वभाविकै थियो । फेरी भूकम्पको धक्का आइरहेको थियो ।

टुरिष्ट बसको यात्रा सहजै भयो । काठमाडौँ समयमै आइपुगेँ । बाटोमा २ घण्टा जाममा परियो । भूकम्पको धक्काले पहिलो गएछ । डोजरले बाटो सफा गर्यो । दुई घण्टाको बसाईको क्रममा पनि यस्तै भूकम्पका घटनाहरु छलफल भइरहन्थ्यो । मंगलवार धेरै मानिसहरु राजधानी छाडेकाले सयौं बसहरु बाटोमा देखिन्थे । भारतिय नम्बरका लामा–लामा गाडीहरु आफ्ना मान्छे बोकेर फर्किरहेको थियो । छतभर मान्छे थिए । संगै सिटमा बसेका साथीले अघिल्लो दिन बस नपाएर दुःख पाएको कथा सुनाए । खासमा उनले नेपाल आर्मीमा दरखास्त दिएका रहेछन् । सोमवार अन्तवार्ताको लागि बोलाएको रहेछ । फोन गर्दा लागेन अनि २ हजार रुपयाँ तिरेर पोखरा गएको सुनाए ।

थानकोट आइपुग्दा दिउँसोको ४ बजेको थियो । काठमाडौ पुरै साउनको जस्तो कुहिरोले छोपेको थियो । मन झसङ्ग भयो वाताबरण देखेर । कलंकी आउने बित्तिकै मान्छेहरु बाटोभर थिएँ । ट्याक्सी लिएर जाउलाखेल हानिएँ । भूकम्प आयो भने घर पल्टेलान भन्ने डर थियो । ट्याक्सीमा बसेपछि भने दायाँ बाँयाको वाताबरण निहाल्ने मौका मिल्यो । पुराना पुराना घर भत्केका थिए । परिवारलाई घर भत्केको पीडा महसुस गर्न सक्छु । यत्रो भूकम्प आउँदा पुराना घर ढल्नु स्वाभाविकै लाग्यो । केही आरसीसी घर पनि पल्टेको देखेँ । अनि मन मनै सोचेँ घर वनाउँदा व्यपारिक हिसावले वनाएर यस्तो भएको हुनसक्छ । भूकम्प प्रतिरोधात्मक घर बनेनन । सिमेन्ट वालुवाको राम्रो जडान भएनन् होला भन्ने लाग्यो ।

कार्यालय पुगेपछि धक्काको महसुस भयो । बाहिर सुरक्षित स्थान तोकेँ । केही भएमा भाग्ने स्थान पनि हेरेँ । साँझ एक्लै बस्न कठिन भए जस्तो लाग्यो अनि नयाँ व्यक्तिसँग परिचय गरेर सँगै सुत्यौ । दिदी र दाई, साथीलाई फोन गर्दा उनीहरु चौरमा छौं भन्थे । जेसुकै होस भनि कोठाभित्रै सुत्यौं । बुधवार प्रोटेक्सन क्लस्टरको बैठक थियो, महिला तथा बालबलिका बिभागमा । एक जना विदेशी साथी र म सहभागी भयौँ । बैठकमा दुई सय भन्दा बढी व्यक्ति सहभागी थिए । सबै नाम चलेको अन्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि । केही नेपाली गैरसरकारी संस्थाका प्रतिनिधि र सरकारी प्रतिनिधि पनि थिए । फलानो फलानो जिल्लामा सामानको आयश्यकता परेको छ, कसले दिन्छ भनी सोध्थे सरकारका प्रतिनिधि । अनि भटाभट भन्थे– म सहयोग गर्छु ।

सबै सामानको कुरामा जोड दिन्थे । मैले पनि जुरुक्क उठेर मनोसामाजिक स्वास्थ्यको कोपिला नेपालले गोर्खा, लमजुङ, स्याङजा, कास्कीमा आपतकालिन मनोसामाजिक सहयोग गरेको छ १३ गतेबाटै भन्दा सब दंग परे ।

जे होस बैठकमा सवै संस्थाको प्रमुख भएको वैठकमा सहभागी भएर कुराकानी गर्न पाउँदा गर्वको अनुभुति भयो । ११ जिल्लालाई अति प्रभावित भनि छुट्याइएको छ । जसमा काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, रामेछाप र गोर्खा रहेका छन् ।

काठमाडौँको बसाईका क्रममा जस्तो सन्देशहरु पोखरामा सुनेको थिएँ, त्यस्तो छैन् । भूकम्प आउने बित्तिकै सारा मान्छेहरु सडकमा निस्केको थिए । सबै सडकमा देखिन्थे । कतिपय निस्कँदै गर्दा घरले पुरेको थियो । सवै सडकमा आएपछि सरकारलाई व्यवस्थापन गर्न कठिन भयो । दिनभरजसो काठमाडौँबासी कोठामा खाना खाएर सुत्नका लागि खुला स्थान रोजेका देखिन्थे ।

तर, काठमाडौँमा चाहिने भन्दा हल्ला पनि धेरै नै सुनियो । बिहीवार मात्रै एक मानसिक समस्या भएको व्यक्तिले माइक गदैं हिडेछन्– अब राजधानी सकिने भयो । पुनः ९ रेक्टर स्केलको भूकम्प आउने भन्दै ।

घर फर्किन लागेका मान्छेहरु पुन सडकमा आए । मान्छेहरुलाई राम्रो भएन भनेर भन्न सजिलो छ । तर आफैले व्यवस्थान गर्न धेरै कठिन छ । भूकम्प आए पछि सारा पसल वन्द भए । मान्छेहरु त्यही रातनै सडकमा निस्के । पसल पनि बन्द, घरमा जान डरलाग्दो अवस्था भएपछि हाहाकार हुनेनै भयो ।

अझै पनि काठमाडौँ लगायतका देशभर सानासाना भूकम्पका झड्काहरु आइरहेका छन् । झड्का आउँदैमा डराएर भाग्दा झनै नराम्रो भएको छ । हामी व्यक्तिहरुसँग कुराकानी गर्दा समेत व्यक्तिहरुलाई सामान्यीकरण गर्न सहयोग गरिहेका हुथ्यौं । तर कहिलेकाँही घर परिवारवाटै त्यस्तै कुराहरु फोनवाट भनिरहँदा भने रिस पनि उठ्ने । यसपालीको विनाशकारी भूकम्पले धेरैलाई पाठ सिकाएको छ । धनजनको धेरै नोक्सानी भयो । कतिले आफन्त गुमाउनु भयो । कतिको अंगभंग भयो । देशको पहिचान दिने ऐतिहासिक धरोहरहरु भत्किए । यस्तो विपतको घडीमा सवै संयमित भएर समस्या व्यवस्थापनमा लाग्नु पर्ने छ । यो सबै नेपालीको साझा जिम्मेवारी हो । घरपरिवार समाजको कुरा सुनेर म पोखरानै वसेको भए अनुभव लिन सक्ने हैसियत मसंग हुने थिएन । केही भए पनि बालबालिका र व्यक्तिहरुको मनको पीडाहरुमा मलम लगाउन पाएका छौँ । अझै केही दिन उनीहरुको समस्या बुझ्ने काममा लागि रहनेछु । अब राजधानी सामान्य बन्दै गएको छ ।