– नरेश केसी
गोरखा, २० बैशाख। गोरखाका जनताहरु अहिले महाभुकम्पबाट जति दुखित भएका छन्, त्यो भन्दा बढी आफ्नै क्षेत्रबाट निर्वाचित नेताहरु यतिका दिन बित्दासम्म एकपटक गाउँ नफर्केकोमा आक्रोशित छन् ।
‘हामीले डा. बाबुराम भट्टराईलाई जिताएर पठायौं । उनी देशका ठूला नेता भए । प्रधानमन्त्री भए तर हामीलाई यस्तो समस्या परेको बेला कहाँ छन् अत्तोपत्तो छैन् ।’
बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर आएको महाभुकम्पले गोरखा जिल्लालाई आक्रान्त तुल्याएको छ । जिल्लाका अधिकांश घरहरु पूर्णतया क्षतविक्षत भएका छन् । अझैसम्म कति घर नष्ट भए, अनि कति मानिसहरुको मृत्यु भयो भनेर यकिन तथ्यांक आउन सकेको छैन । सरकारको उपस्थिति यस्तो बेलामा गाउँमा अति कमजोर देखिएको छ ।
सरकारी संयन्त्रहरु गोरखा सदरमुकाम गोखरामा केन्द्रित गरिएको छ । राजनीतिक दलहरु पनि गाउँ फर्केका छैनन् ।
समाचार संकलनका लागि हाम्रो टोली गोरखा पुग्दा राहत प्राप्तिका लागि गोरखा जिविसको ताल्चा मारिएको मुख्य ढोका बाहिर बस्नेको घुइँचो थियो । भित्र प्रहरी र प्रशासनको अनुमतिमा जान पाइन्थ्यो । संचारकर्मीको परिचयपत्र देखाएपछि बल्लतल्ल भित्र छिरेका हामीहरु भित्र छिर्ने बित्तिकै राहतका लागि २ जनाबीच घम्साघम्सी नै भएको देख्यौं । जिविसको कम्पाउण्डभित्र राखिएको विभिन्न निकायबाट आएको राहत सामग्री अस्तब्यस्त थियो । राजनीतिक दलका कम्तीमा ३ जना स्थानीय नेताहरुले तोक लगाएपछि मात्रै पीडितले राहत पाउने रहेछन् त्यहाँ । अलि बोलवाला र पहुँचवाला त भित्र छिर्ने, तोक लगाउने गरिरहेका थिए । गाउँका सोझासाझा र टाढाबाट आएकाहरु छटपटिरहेका थिए । ताकुकोटबाट राहत पाउने आशमा आएका नयन केसी जिल्लाबाट राहत पाउन राजनीतिक दलका नेताहरुको पछि लाग्नु परेकोमा दिक्क हुँदै भने– ‘खै पहुँच नभएको मान्छेको यहाँ कुनै काम छैन । यतिका राहत आइरहेको छ, कहाँ गएको छ थाहा छैन ।’ ताकुकोटमा करिब २ सय घर पूर्ण रुपमा नष्ट भएको उनको भनाइ थियो ।
यता गोरखा क्षेत्र नम्बर १ अन्तरगत पर्ने गोरखा स्वाराका जनताहरु राहतको नाममा पुरै गाउँलाई १० वटा मात्रै त्रिपाल बाहेक अरु केही नपाएकोमा जति दुखित छन्, त्यो भन्दा बढी यत्तिका दिनसम्म एक जना राजनीतिक दलका नेताहरु के छ कसो छ भनी सोध्न समेत नआएकोमा आक्रोशित भएका छन् ।
विनाशकारी भूकम्पका कारण दलित समुदायको बाहुल्यता रहेको स्वाराका जनता अहिले खुल्ला आकाशमुनि बसिरहेका छन् । गोरखालाई लक्षितगरी स्वदेशी संघसंस्था तथा विदेशी मुलुक र सहयोगी संस्थाले सयौँ ट्रक राहत सामग्री पठाएता पनि त्यसको पारदर्शिता हुन सकेको छैन ।
स्वाराको बाटो हुँदै गोरखाकै अन्य ठाउँमा दैनिक ५० औं ट्रली राहत सामग्री गएता पनि सो दलित समुदायका जनताले अहिलेसम्म राहत के हो राम्ररी देख्न नपाएको गुनासो गरेका छन् ।
समाचार संकलनका लागि स्वारा पुगेका सन्चारकर्मीहरुसँग गुनासो गर्दै गाउका मानिसहरु भन्दै थिए – ‘सबै टाठाबाठाले लैजान्छन् । जिल्लामा गएको जिविसको गेटबाट भित्र छिर्न दिदैनन् । हामीले के खाएर बाँच्ने ?’
गुनासोसंगै स्वाराबासीको अर्को आक्रोश पनि छ । उनीहरु भन्दै थिए– ‘हामीले डा. बाबुराम भट्टराईलाई जिताएर पठायौं । उनी देशका ठूला नेता भए । प्रधानमन्त्री भए तर हामीलाई यस्तो समस्या परेको बेला कहाँ छन् अत्तोपत्तो छैन् ।’
पालमुनी बसेर दिन कटाइरहेका स्वाराबासीहरु अहिले बाबुराम भट्टराईले एकपटक पनि आफ्नो क्षेत्रको निरीक्षण नगरेकोमा झन रुष्ट छन् । उनीहरु भन्दैछन् – ‘यहि क्षेत्रबाट चुनेर पठायौं, यस्तो बेला खै त कहाँ गए भट्टराई ? भट्टराई आउन नसकेता पनि उनका दलका नेताहरु त आउन सक्थे नि ।’
एकछापे भोट हालेर जिताएता पनि अहिले यस्तो विपतमा सन्देश समेत नपठाउँदा दुखः लागेको स्थानीय रिता अधिकारी बताउँछिन् । अर्का भुन्टे अछामी भन्छन् – ‘खै नेताहरु कहाँ छन् कहाँ ?’
गोरखा क्षेत्र नम्बर १ का जनताहरुले अब नेताहरु आएमा लाठी लगाएर लखट्ने सोचंमा रहेको बताए । प्राकृतिक विपत्तिले गोरखाली जनतालाई दुखः दिएको छ नै, त्यसमा आफ्नै क्षेत्रबाट निर्वाचित भएका नेताहरु यत्तिका दिन बित्दासम्म क्षेत्रमा फर्केर नआउँदा उनीहरु रुष्ट भएका हुन् । सरकार र व्यवस्थापिका ससंदका सभामुखले सबै सभासदलाई आ–आफ्नो क्षेत्रमा गएर प्राकृतिक विपत्तिमा परेका जनतालाई सहयोग गर्न आग्रह गरेता पनि डा. भट्टराई आफू निर्वाचित भएको क्षेत्रमा एक पटक पनि पुगेका छैनन् ।
४७ घर दलित समुदाय रहेको स्वारा गाउँका सबै घर पूर्ण रुपमा क्षतिग्रस्त छन् । उनीहरु भन्दैछन्–‘ हामी उमेर भएकालाई त केही छैन यताउता गरौंला ।, तर केटाकेटी र बुढाबुढीलाई के खुवाउने ?’





















प्रतिक्रिया