३० आश्विन २०८३, शुक्रबार

गोर्खालीको आक्रोसः बाबुराम तिमी कहाँ छौ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai

– नरेश केसी
गोरखा, २० वैशाख । गोरखाका जनताहरु अहिले महाभूकम्पबाट जति दुखीत भएका छन् त्यो भन्दा बढी आफ्नै क्षेत्रबाट निर्वाचित नेताहरु यतिका दिन वित्दा सम्म एक पटक गाउँ नफर्केकोमा आक्रोशित छन् ।

बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर आएको महाभूकम्पले गोरखा जिल्लालाई आक्रान्त तुल्याएको छ । जिल्लाका अधिकांश घरहरु पुर्णतया क्षतविक्षत भएका छन् । अझैसम्म कति घर नष्ट भए कति मानिसहरुको मृत्यु भयो भनेर एकिन तथ्यांक आउन सकेको छैन । सरकारको उपस्थिती यस्तो बेलामा गाउँमा अति कमजोर देखिएको छ ।

सरकारी संयन्त्रहरु गोरखा सदरमुकाम गोखरामा केन्द्रित गरिएको छ । राजनीतिक दलहरु पनि गाउँ फर्केका छैनन् । समाचार संकलनको लागी हाम्रो टोली गोरखा पुग्दा राहत प्राप्तीको लागी गोरखा जिविसको ताल्चा मारिको मुख्यद्धार बाहिर बस्नेको घुईचो थियो । भित्र प्रहरी र प्रशासनको अनुमतिमा जान पाइन्थ्यो ।

सन्चारकर्मीहरुको परिचयपत्र देखाएपछि बल्लतल्ल भित्र छिरेका हामीहरु भित्र छिर्ने वित्तिकै राहतको लागी २ जनाबीच घम्सा घम्सी नै भएको देख्यौं । जिविसको कम्पाउण्ड भित्र राखिएको विभिन्न निकायबाट आएको राहत सामग्री अस्तव्यस्त थियो । राजनीतिक दलका कम्तिमा ३ जना स्थानिय नेताहरुले तोक लगाएपछि मात्रै पीडितले राहत पाउने रहेछ त्यहाँ ।

अलि बोलवाला र पहुँचवाला त भित्र छिर्ने, तोक लगाउने गरिरहेका थिए । गाउँका सोझा साझा र टाढाबाट आएकाहरु छटपटिरहेका थिए । ताकुकोटबाट राहत पाउने आशमा आएका नयन केसी जिल्लाबाट राहत पाउन राजनीतिक दलका नेताहरुको पछि लाग्नु परेकोमा दिक्क हुदै भने : खै पहुँच नभएको मान्छेको यहाँ कुनै काम छैन । यतिका राहत आइरहेको छ कहाँ गएको छ थाहा छैन् । ताकुकोटमा करिब २ सय घर पुर्ण रुपमा नष्ट भएको उनको भनाई थियो ।

यता गोरखा क्षेत्र नम्बर १ अन्तर्गत पर्ने गोरखा स्वाराका जनताहरु राहतको नाममा पुरै गाउँलाई १० वटा मात्रै त्रिपाल बाहेक अरु केही नपाएकोमा जति दुखीत छन् त्यो भन्दा बढी यत्तिका दिनसम्म एक जना राजनीतिक दलका नेताहरु के छ कसो छ भनी सोध्न समेत नआएकोमा आक्रोशित भएका छन् ।

विनाशकारी भूकम्पको कारण दलित समुदायको बाहुल्यता रहेको स्वाराका जनता अहिले खुल्ला आकाशमुनि बसिरहेका छन् । गोरखालाई लक्षितगरी स्वदेशी संघसंस्था तथा विदेशी मुलुक र सहयोगी संस्थाले सयौं ट्रक राहत सामग्री पठाएता त्यसको पारदर्शिता हुन सकेको छैन् ।

स्वाराको बाटो हुदैं गोरखाकै अन्य ठाऊमा दैनिक ५० औं ट्रली राहत सामग्री गएता पनि सो दलित समुदायका जनताले अहिले सम्म राहत के हो राम्ररी देख्न नपाएको गुनासो गरेका छन् । रिपोर्टिङको क्रममा स्वारा पुगेका सञ्चारकर्मीहरुसँग गुनासो गर्दै गाउँका मानिसहरु भन्दै थिए–‘सबै टाठाबाठाले लैजान्छन् । जिल्लामा गएको जिविसको गेटबाट भित्र छिर्न दिँदैन । हामीले के खाएर बाच्ने ?’

गुनासोसँगै स्वाराबासीको अर्को आक्रोश पनि छ । उनीहरु भन्दै थिए । हामीले डा. बाबुराम भट्टराईलाई जिताएर पठायौं । उनी देशका ठूला नेता भए । प्रधानमन्त्री भए तर हामीलाई यस्तो समस्या परेको बेला कहाँ छन् अत्तोपत्तो छैन् । हामीले सुने अनुसार आफ्नो ससुराली घर भत्किएको पिरमा बाबुराम छन् रे । तर हामी हजारौं नागरिकको घर भत्किदा उनी ससुरालको घर हेरिरहेका छन् ।

पालमुनी बसेर दिन कटाईरहेका स्वाराबासीहरु अहिले बाबुराम भट्टराईले एकपटक पनि आफ्नो क्षेत्रको निरीक्षण नगरेकोमा झन रुष्ट छन् । उनीहरु भन्छन्–‘यहि क्षेत्रबाट चुनेर पठायौं यस्तो बेला खै त कहाँ गए भट्टराई ? भट्टराई आउन नसकेता पनि उनका दलका नेताहरु त आउन सक्थे नी ।’ एकछापे भोट हालेर जिताएता पनि अहिले यस्तो विपतमा सन्देश समेत नपठाउदा दुखः लागेको रिता अधिकारी बताउछिन् । अर्का भुन्टे अछामी भन्छन् : खै नेताहरु कहाँ छन् कहाँ ?

गोरखा क्षेत्र नम्बर १ का जनताहरु अब नेताहरु आएमा लाठी लगाएर लखट्ने योजनामा छन् । प्राकृतिक विपत्तिले गोरखाली जनतालाई दुःख दिएको छ नै त्यसमा आफ्नै क्षेत्रबाट निर्वाचित भएका नेताहरु यत्तिका दिन वित्दा सम्म क्षेत्रमा फर्केर नआउदा उनीहरु रुष्ट भएका हुन् । सरकार र व्यवस्थापीका ससंदका सभामुखले सबै सभासदलाई आ–आफ्नो क्षेत्रमा गएर प्राकृतिक विपत्तिमा परेका जनतालाई सहयोग गर्न आग्रह गरेता पनि डा. भट्टराई आफु निर्वाचित भएको क्षेत्रमा एक पटक पनि पुगेका छैनन् ।

४७ घर दलित समुदाय रहेको सो गाउँका सबै घर पुर्ण रुपमा क्षतिग्रस्त छन् । उनीहरु भन्छन् हामी उमेर भएकालाई त केही छैन यता उता गरौंला तर केटा केटी र बुढाबुढीलाई के खुवाउने ?

यस्तो छ गोरखाको अवस्था तस्वीरमा :