१ कार्तिक २०८३, आइतबार

किसानलाई भैँसी वितरण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ असार ।किसानलाई दूध एवं मासुमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी आम्दानी बढाउन सुनसरीको कोसी गाउँपालिकाले भैँसी वितरण थालेको छ । साथै पालिकाले दूध सङ्कलन केन्द्रको स्थापना गरी बजारीकरणको समेत व्यवस्था गर्ने भएको छ ।

प्रधानमन्त्री आधुनिक कृषि परियोजनामार्फत भैँसी ब्लक विकास समन्वय समिति कोसी सुनसरी तथा भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवा सुनसरीले संयुक्त रुपमा भैँसी, चापाकटर मेसिन(कुट्टि काट्ने), भेटनरी औषधि र दूध सङ्कलन केन्द्रमा अनुदान उपलव्ध गराएको छ ।

उक्त पालिकाको वडा नं १, २, ३, ४, ५, ६ र ७ का किसाननलाई भैँसी ३५ , गोठ सुधार ४२, चापाकटर ४२ र दूध सङ्कलन केन्द्रमा एकमा अनुदान उपलव्ध गराइएको छ ।

चापा कटरमा रु ३६ हजार, भैँसीमा रु ६० हजार, गोठ सुधारमा रु ४० देखि ६० हजार र दूध सङ्कलन केन्द्रमा रु १२ लाख गरी जम्मा कार्यक्रमको अनुदान रु ७० लाख र किसानको रु ७० लाख गरी एक करोड ४० लाखमा उक्त कार्यक्रम सञ्चालन गरिएको छ ।

यादव गाईभैँसी बाख्रापालन तथा कृषि फर्मका श्यामसुन्दर यादवले अनुदानबाट प्राप्त भैँसीले सहज जीवनयापनमा सहयोग पुग्ने धारणा राख्नुभयो ।

यसैगरी दुई भैँसीपालन गर्ने सप्तकोसी कृषि फर्मका लाल खङ्काले दूध सङ्कलन केन्द्र स्थापनाबाट भैँसीपालनमा सहज हुनुका साथै आगामी दिनमा आम्दानीसमेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रदेश नं १ कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले किसानको भैँसी पालनले क्षेत्र समेटेकोमा यस स्थानमा आगामी दिनमा ‘भैँसी जोन विकास’ बनाउने जनाउँदै यसवाट भैँसीको सुधार घाँस उत्पादन, औषधि उपचारमा सहयोगले किसानको आर्थिक समृद्ध कायम हुने धारणा राख्नुभयो ।

उहाँले यस कार्यक्रमले युवालाई स्वरोजगार हुन सहयोग पुगी वैदेशिक रोजगारीमा जाने कार्यलाई न्यून गर्नुका साथै मुलुकलाई दूध तथा मासुमा आत्मनिर्भर बनाउन मद्दत पुग्ने बताउनुभयो ।

सो अवसरमा समन्वय समितिका अध्यक्ष शिवनारयण यादव, पशुपक्षी तथा मत्स्य विकास कार्यालयका निर्देशक पशुपति ढुङ्गाना, परचुन कुसियत, वडा नं ४ का अध्यक्ष इसराइल मन्सुर, वडा नं २ का अध्यक्ष जुडिलाल कडरिया र भेटनरी अस्पताल इनरुवाका प्रमुख रामप्रसाद मेहताले किसानको जीवनस्तर उकास्नका आएको अनुदानलाई सदुपयोग गर्न आग्रह गर्नु भयो ।–रासस