१ कार्तिक २०८३, आइतबार

सीसीटीभी फुटेज डिलिट गर्नु अर्थमन्त्रीको अर्को अपराधः प्रदीप ज्ञवाली

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० असार । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज डिलिट गरेर अर्को अपराध गरेको बताएका छन् ।

ज्ञवालीले अर्थमन्त्री शर्माले बजेट निर्माणको बेलाको फुटेज डिलिट गरेर अपराध गरेको बताए ।

अर्थमन्त्री शर्मामाथि बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिबाट करको दर हेरफेर गरेको आरोप लागिरहेको छ ।

त्यसै विषयलाई लिएर उपभोक्ता हित संरक्षण मञ्चले सूचनाको हक प्रयोग गरेर सीसीटीभी फुटेज माग्दा मन्त्रालयले डिलिट भइसकेको जवाफ दिएको थियो ।

यसबारे सोमबार संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव ज्ञवालीले त्यसबेलाको फुटेज डिलिट भयो भन्नु गम्भीर घोटाला भएको आफैंले पुष्टि गरेको दावी गरे ।

‘वास्तवमा यो दोहोरो अपराध हो । बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश र उनीहरुको उपस्थितिमा करका दरहरुको हेरफेर यो एउटा जघन्य अपराध त छँदैथियो । यो अपराधलाई लुकाउनका निमित्त त्यस सम्बन्धी प्रमाण नष्ट गर्नका लागि यदि साँच्चैनै सिसीटिभी फुटेज नष्ट गरिएको हो भने अर्को ठूलो अपराध हो’ ज्ञवालीले भने ।

यस घटनामा संलग्नलाई छानबिन गरी कारवाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ । ‘एउटा बदमासीलाई ढाकछोप गर्नका लागि अर्को बदमासी पनि गरिएको छ । जुन अक्षम्य हो भन्ने हाम्रो मान्यता छ’ उनले भने ।