भूकम्पले यस्तो महामारी फैलन सक्छ, थाहा पाउनुहोस्
– विश्वास खड्काथोकी
काठमाडौं, १९ वैशाख । भूकम्पले देशलाई तहस, नहस र थर्कमान पार्यो । जुन थर्कन अझै मत्थर भएको छैन । नागरिकहरु त्रास मुक्त हुनुको साटो झनै अत्तालिन थालेका छन् । उनीहरु अत्तालिनुको कारण भूकम्प नभएर भूकम्पपछि आउने महामारीको हो । त्यहि त्रासदीले दैनिक हजारौं मानिसहरु काठमाडौंबाट बाहिर निस्कन तछाड मछाड गरिरहेका छन् ।
मानिसहरु घर छोडेर बाहिर बसिरहेकाले महामारी फैलन सक्ने ठूलो सम्भावना रहेको डाक्टर बाशुदेव पाण्डे बताउँछ । उनले भूकम्पपछि देखिन सक्ने रोग, यसका कारण र बँच्ने उपायबारे दैनिक नेपालसँग खुलाएका छन् ।
यस कारण आउन सक्छ महामारी
कैयो मानिसहरु घर छाडेर बाहिर बसेको अवस्था छ । यस्तो अवस्थामा स्वभाविक रुपमा खानेपानी, खाना लगायतको समस्या आउछ । ट्वाइलेटको राम्रो व्यवस्था नहुँदा र दुषित खानेकुराले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ । अझै समस्याको विषय भनेको शवहरु हुन् । ति शवहरु सडिसकेकाले बातावरण प्रदुषण बनाउँदैछ । जुन महामारिको अर्को कारण बन्न सक्छ । फेरि यहि समय लगातार पानी परिरहेको छ । एक त मानिसहर घर बाहिर बसिरहेका छन्, त्यसमाथि पनि पानी पर्दा उनीहरु मेन्टल्ली टेन्सनमा रहेका छन् । जसले गर्दा श्वास प्रश्वासदेखि विभिन्न खालका सरुवा रोगहरु फैलनसक्ने देखिन्छ ।
यस्तो महामारी फैलिने सम्भावना
यतिबेला सबैभन्दा ठूलो समस्या भनेको स्वास प्रश्वास सम्बन्धी रोग र झाडापखालाको हो । पाटनमा झाडापखालाको रोगी देखिन थालिसकेका छन् । पाटनको साथीले झाडापखालाको रोगी हस्पीटलमा आउन थाले पछि छुट्टै वार्ड बनाएर उपचार गर्न सुरु गरेको बताउदै थिए । पानी र चिसोको कारणले रुघा, खोकी, हैजा, टाइफाइट, हेपाटाइटिस लगायतका रोग फैलने डर छ । यसका साथै एच वन एन वान इन्फ्लुन्जा(स्वाइन फ्लु) फैलन सक्ने पनि त्यत्तीकै खतरा छ । तर स्वाइन फ्लु भन्न बित्तिकै आत्तिहाल्नु पर्दैन, किनकी स्वाइन फ्लु भनेको स्वास प्रश्वास सम्बन्धि एक प्रकारको इन्फ्लुन्जा हो । एक हप्ता देखि विरामीहरु देखिन थाल्नेछन् ।
यसरी बच्न सकिन्छ महामारीबाट
डेथ बोडिहरु सड्न थाली वातावरण प्रदुषण हुन थालेकाले हात राम्रोसँग धुनु पर्दछ । खानको लागि सफा पानी प्रयोग गर्न जरुरी छ । सकेसम्म पानी उमालेर प्रयोग गर्दा अझ राम्रो । अर्को कुरा घर बाहिर बसिरहेकाहरुले पनि अस्थाई शौचालय निर्माण गरी दिसा, पिसाब गर्नुपर्दछ । यसबाट धेरै हदसम्म रोगबाट बच्न सकिन्छ । आफुले कति सकिन्छ त्यति फोहोरको पनि व्यवस्थापन गर्नु पर्दछ ।
औषधी अभावको खतरा
स्वास्थ्य मन्त्रालयमा औषधिको जिम्मेवारी सम्हाल्दै आएका डा. भिमसेन तिनकारीले तत्काल आफुहरुसँग स्टक औषधी नरहेको बताए । सबै औषधीहरु गाउँगाउँमा पठाएकाले अहिले मन्त्रालयमा सबै प्रकारको औषधी नरहेको उनले जानकारी दिए । एक दुई दिनमा औषधि खरिद गर्ने पनि उनले बताए । तत्काल महामारी फैलिहाले औषधीको अभाव देखिने उको भनाई छ । आफुहरुले इमरजेन्सी रुपमा औषधी खरीद प्रक्रियालाई अगाडि बढाउन लागेको र खरिदको लागि एक दुई दिन लाग्ने डा. तिनकारीले उल्लेख गरे । औषधीलाई कसरी सहज बनाउने भन्ने विषयमा मन्त्री परिषद्मा छलफल भैरहेको पनि उनले जानकारी दिए ।















प्रतिक्रिया