नयाँ दिल्ली, १८ वैशाख । भारतीय चर्चित योगगुरु बाबा रामदेवले आफ्नो औषधिको बचाउ गर्नुभएको छ । बाबा रामदेवको प्रत्यक्ष सम्लग्नताको कम्पनीद्वारा निर्मित एक औषधिको बारेमा शुक्रबार उहाँले पत्रकार सम्मेलन गरी उक्त औषधिको बचाउ गर्नुभएको हो ।
दिव्य पुत्रजिवक बिज नामको सो औषधि छोरा जन्माउने बिजका रुपमा बनाइएको र सोही प्रयोजनका लागि प्रयोगमा ल्याइने गरेको आरोप लगाइएपछि उहाँले सो औषधिको बचाउ गर्नुभएको हो ।
उहाँले उक्त औषधिको बचाउ गर्दै त्यस्तो काम सम्भव हुन नसक्ने भन्दै बाँझोपन हटाउनका लागि मात्र त्यसको प्रयोग गर्न सकिने उहाँले स्पष्ट गर्नुभएको छ । उहाँको भनाई थियो त्यस औषधि बालबच्चा नभएका र बाँझोपन भएको व्यक्तिले सो औषधिको सेवन गर्नसक्ने र सोही रुपमा नै बनाइएको हो ।
उक्त आयुर्वेदिक औषधिको सेवनले महिलालाई छोरा जन्माउन सघाउने र सोही बमोजिम निर्माण गरिएको भन्दै यसले भारतमा हालैका दिनमा जारी रहेका महिला हिंसाका घटनामा सघाउने आरोप विभिन्न दलका सभासद्हरुले लगाएका थिए ।
सो कारण छोराको चाहनाका कारण भू्रण हत्यागर्ने गरिएको भारतीय समाजमा यस औषधिले झन नराम्रो अवस्थाको सिर्जना गर्नसक्ने भन्दै त्यसको विरोधमा भारतीय विपक्षी सांसद्हरुले संसदमा नै होहल्ला र विरोध गरेका थिए ।
संसदमा यस्तो परिस्थिति आएपछि भारतीय स्वास्थ्यमन्त्री जगतप्रसाद नाड्डाले त्यस औषधिको अनुसन्धान गर्ने र यदि त्यस्तो पाइएमा कारबाही गरिने जानकारी दिनुभयो ।
नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बाबा रामदेवले भन्नुभयो- यस औषधिमा लिङ्गका आधारमा बच्चा जन्माउने अथवा छोरामात्र जन्माउने गरी मात्रा मिलाइएको भनेर गरिएको हल्ला निराधार हो र त्यो सम्भव पनि छैन ।
साथै उहाँले यदि नामका कारणले लैङ्गिक विभेद भयो भन्ने लाग्छ भने यसको नाम पनि हालको स्टक सकिएपछि आगामी दिनमा फेर्न सकिने उहाँले भन्नुभयो ।
गएको आमनिर्वाचनमा भारतीय जनता पार्टीको सहयोगमा बाबा रामदेवले अभियान नै सञ्चालन गर्नुभएको थियो । सोही कारणले पनि विपक्षी नेता तथा कार्यकर्ताहरुले उहाँले विरोध गर्ने गरेका छन् ।
त्यसपछिका दिनहरुमा विपक्षी दलका सभासद्हरुले संसदमा नै बाबा रामदेवका विपक्षमा विभिन्न खाले हल्ला एवम् दोषारोपण गर्ने गरेका बताइन्छ । रासस/एएफपी













प्रतिक्रिया