
काठमाडौं, ११ असार । सरकारले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिएको छ ।
असार ६ को मन्त्रिपरिषद् बैठकले भारतीय जलविद्युत् कम्पनी एनएचपीसी लिमिटेडलाई पश्चिम सेती निर्माणको जिम्मा दिएको लगानी बोर्डका प्रवक्ता अमृत लम्सालले जानकारी दिए । जेठ २३ मा बसेको बोर्डको ५१औं बैठकले भारतीय कम्पनीलाई दिन सरकार समक्ष सिफारिस गरेको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा नै पश्चिम सेती निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने बताएका थिए । आन्तरिक लगानीले निर्माण गर्न नसकिने र चिनियाँ कम्पनीले बनाउँदा भारतले बिजुली नकिन्ने भएकाले भारतीय कम्पनीलाई नै निर्माणको जिम्मा दिइने धारणा देउवाले सार्वजनिक गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जेठ २ गते लुम्बिनी भ्रमणका क्रममा पनि पश्चिम सेतीबारे छलफल भएको थियो ।
सरकारको संकेत पाएपछि भारतीय सरकारी कम्पनी एनएचपीसीले जेठको तेस्रो साता लगानी बोर्डमा आवेदन पठाएको थियो। निर्णयका लागि बोर्डले सरकारलाई सिफारिस गरेको थियो । पश्चिम सेती आयोजना अस्ट्रेलियन कम्पनी स्मेक र चिनियाँ कम्पनी थ्री गर्जेजेले लामो समयसम्म होल्ड गरेर राखेका थिए । सम्भाव्यता अध्ययन भएको ४० वर्षपछि पश्चिम सेती निर्माणको जिम्मा पाउनेमा भारतीय कम्पनी तेस्रो नम्बरमा छ । एनएचपीसीलाई बनाउन दिने निर्णयपछि सरकारले वार्ता समिति पनि गठन गरेको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको नेतृत्वमा गठित वार्ता समितिमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, कानुन मन्त्रालय, ऊर्जा मन्त्रालयका सहसचिवहरू, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक, बोर्डकै सहसचिवलगायत सदस्य छन् । वार्ता समितिको प्रारम्भिक बैठक शुक्रबार नै बसेको छ । ‘पश्चिम सेती आयोजना तयारीको सुरुवात भएको छ,’ लम्सालले अन्नपूर्ण पोस्ट्सँग भने, ‘अब सम्झौताका लागि ज्ञापनपत्रको ढाँचा बनाउँछौं । त्यसपछि छलफलका लागि भारतीय कम्पनीलाई बोलाइनेछ ।’
एनएचपीसीसँग साउनको पहिलो हप्ताभित्र सम्झौता गर्ने तयारी भइरहेको प्रवक्ता लम्सालले बताए । पश्चिम सेतीसँगै क्यासकेड आयोजना पश्चिम सेती (एसआर–६) (४५० मेगावाट) निर्माणको जिम्मा पनि सोही कम्पनीले नै दिने सरकारको तयारी छ । पश्चिम सेती पूर्ण जलाशययुक्त बनाउने वा अर्धजलाशययुक्त बनाउने भन्ने जिम्मा पनि एनएचपीसीलाई नै दिइएको छ, आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुनिता कार्कीले समाचार लेखेकी छिन् ।













प्रतिक्रिया