३ कार्तिक २०८३, मंगलबार

खैरेनीटार–भिमाद सडक एकतर्फी सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, ३ असार । तनहुँको शुक्लागण्डकी नगरपालिकादेखि भिमाद बजार जाने एकतर्फी सडक सञ्चालनमा आएको छ । शुक्लागण्डकी–७ स्याउली बजारमा वर्षाको भेलले सडक खाल्डो परेपछि आज बिहानदेखि एकतर्फी सडक सञ्चालनमा आएको हो ।

उक्त सडकखण्ड विस्तारका लागि नयाँ बाटो बनाउने क्रममा पानीको भलले सडक नै खाल्डो परेपछि बिहीबार रातिदेखि अवरुद्ध भएको सडकखण्ड आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।

“राति १ बजेसम्म काम गर्दा पनि अवरुद्ध सडक खुलाउन नसकेपछि आज बिहानबाट एकतर्फी सञ्चालनमा ल्याउन सफल भएका छौँ”, उहाँले भन्नुभयो ।

उक्त सडकखण्ड कालोपत्रका लागि गत वर्षको साउनदेखि काम भइरहेको छ । खैरेनीटार–भिमाद–भुमरीघाट–कावासोती सडकको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको पाँच किलोमिटर सडक फराकिलो बनाएर नयाँ कालोपत्र गरिनेछ ।

उक्त कामका लागि सडक डिभिजन कार्यालयले काठमाडौँ स्थित श्री महालक्ष्मी÷हिमाली जेभीबीच सम्झौता गरेको थियो । रु सात करोड ४५ लाख २१ हजारको लागतमा उक्त कामको ठेक्का लागेको छ ।

जिल्लाको भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाको प्रमुख सडक यही हो । यस्तै नवलपुर, पाल्पा र स्याङ्जाका विभिन्न स्थानका सवारी तथा यात्रुसमेत यही सडक भएर आवतजावत गर्ने गर्दछन् ।–रासस