
काठमाडौं, ३ असार । अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा संलग्नताको विषयलाई लिएर नेपाली सेना विवादमा मुछिएको छ ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सेनाले एसपीपीको कुनै पनि प्रक्रियामा सहभागी नभएको र नहुने दाबी गरेको थियो । तर, बिहीबार एकाएक सेनाकातर्फबाट सन् २०१५ मा स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुन अनुरोध गरिएको पत्र नै सार्वजनिक भएपछि सेना विवादमा मुछिएको हो । सार्वजनिक भएको सो पत्रमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको हस्ताक्षर छ ।
सन् २०१५ को अक्टोबर २७ अर्थात् १० कात्तिक २०७२ मा तत्कालीन प्रधान सेनापति क्षत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई पत्र लेख्दै सो कार्यक्रममा सहभागी हुन अनुरोध गरेको खुलेको छ । त्यसबखत मुलुकमा केपी शर्मा ओली प्रधानमन्त्री थिए ।
नेपाली सेनाले भने सो पत्र सार्वजनिक भएसँगै बिहीबार नै पत्र आधिकारिक रहेको तर कुनै पनि एलाइन्समा जानेगरी सम्झौता नगरिएको भनेको छ ।अमेरिकी दूतावासले भने बुधबार पत्रकारहरूसँगको संवादमा नेपालले सन् २०१५ र सन् २०१७ मा एसपीपीमा सहभागी हुन पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले स्वीकार गरेको प्रस्टीकरण दिएको थियो ।
बिहीबार नै प्रतिनिधि सभा बैठकमा सरकारकातर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले सरकार एसपीपीमा सहभागी नभएको र नहुने दाबी राखेका थिए । सो प्रोग्रामका विषयमा सरकारी पक्षको आधिकारिक धारणा आएको छैन भने प्रधानमन्त्री शेरबहादुर देउवासमेत सो विषयमा बोलेका छैनन् । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलहरूले भने सरकारको धारणा माग गर्दै आइरहेका छन् ।
बिहीबार सार्वजनिक भएको पत्रअनुसार अमेरिकालाई सेनाका तर्फबाट प्रधानसेनापति क्षत्रीले एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएपछि पत्र पठाएको देखिन्छ । ओली सन् २०१५ अगस्ट ११ मा प्रधानमन्त्री भएका थिए । सेनाले अमेरिकालाई पठाएको पत्रमा सोही महिनाको २७ तारिखको मिति उल्लेख छ ।
बुधबारसमेत सेनाले विज्ञप्तिमार्फत अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी सम्झौता गर्ने कुनै प्रक्रिया सुरु नगरेको र नेपालको असंलग्न परराष्ट्र नीतिमा प्रतिकूल असर पर्नेगरी भविष्यमा पनि कसैसँग सैनिक साझेदारी नगर्ने स्पष्ट पारेको थियो ।
‘एसपीपीसम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया पनि नभएको जानकारी गराइन्छ,’ बुधबार सेनाले स्पष्ट पारेको पत्रमा उल्लेख छ, आजको राजधानी दैनिकमा महेश्वर गौतमले समाचार लेखेका छन् ।













प्रतिक्रिया