
काठमाडौँ, १ असार । नबिल बैंकले महिला तथा युवा क्युआर मर्चेन्ट लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ ।
नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित “क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन“ परियोजनाअन्तर्गत यो योजना सुरु गरिएको हो । विशेष गरी कोभिड १९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधानमार्फत महिला र युवाहरूको प्रवर्द्धन गर्ने उदेश्यको साथ यो योजना सुरु गरिएको छ ।
युवा भन्नाले यस परियोजनामा संयुक्त राष्ट्र संघको परिभाषाअनुसार १८ देखि २४ वर्षको उमेर भएको उद्दमी जसको आपनो स्वामित्वमा व्यवसाय छ वा जसले प्रत्यक्ष रुपमा व्यवसाय संचालन गरिरहेका छन्, उनीहरुलाई बुझ्नुपर्दछ । यस अघि नयाँ वर्षको अवसरमा पनि नबिल बैंकले यस्तै क्यासब्याक योजना सार्वजनिक गरेको थियो ।
एक महिनाको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने पहिलो क्यूआर कारोबारमा १०% वा अधिकतम प्रति कारोबार रु. २०० नगद फिर्ता दिइने छ । यो योजना असार महिनाभरि लागु हुनेछ ।
वित्तीय पहूँच नपुगेका महिला र युवा उद्दमीमा लक्षित यस योजनामार्फत नबिल बैंकले त्यस्ता उद्दमीहरुलाई बैकिङ च्यानलमा भित्र्याउने, पुराना निष्कृय मर्चेन्टलाई सकृय बनाउने र उनीहरुलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरि दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य लिएको छ ।
सन् १९८४ मा स्थापित यस बैंकले हाल १५० शाखा, १८७ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरुमार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया