
रुपन्देही, १ असार । नेकपा (एमाले)का महासचिव तथा लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेलले मन्त्री आफैँ सर्वसाधारणमाथि जाइलाग्दा पनि सरकार किन मौन बसेको भनि प्रश्न गरेका छन् ।
महासचिव पोखरेलले मन्त्री आफ्ना सुरक्षाकर्मीसहित सर्वसाधारणको घरमा गएर कुटपिट, तोडफोड र अभद्र व्यवहार गर्दा पनि सरकारले प्रतिक्रिया नजनाएकोमा विरोध गरेका छन् ।
उनले सर्वसाधारणमाथि मन्त्रीबाटै यस किसिमको व्यवहार भएको दुई दिनसम्म पनि सरकारको आधिकारिक धारणा नआउनु गम्भीर विषय भएको बताए ।
वुधबार बुटवलमा आयोजित पत्रकारहरूसँगको भेटमा पोखरेलले कानुन कार्यान्वयन गर्ने निकायमा रहेको व्यक्तिका यस्ता गलत क्रियाकलापका विषयमा मौन रहनु आश्चर्यको विषय भएको टिप्पणी गरे ।
‘मौन बस्नु नै यस्ता गलत कामलाई ढाकछोप गर्ने रणनीति बनाउनका लागि हो, यो सामान्य विषय होइन, आम नागरिकले सबै बुझिसक्दा पनि सरकारले लुकाउन खोज्नु आफैंमा रहस्यमय छ’, पोखरेलले भने ।
सरकारको संलग्न व्यक्तिहरुबाटै गलत क्रियाकलाप गर्नेको संरक्षण गरिएको भन्दै महासचिव पोखरेलले आलोचना गरेका छन् ।
एमाले लुम्बिनीले मंगलबार नै महिला र बालिकामाथि हातपात गर्ने स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई बर्खास्त गर्न माग गरेको थियो ।
संसदीय दलका उपनेता बैजनाथ चौधरीले प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई नैतिकताको आधारमा मंगलबारकै मितिदेखि वलीलाई बर्खास्त गर्न आग्रह गरेका थिए ।
तर मुख्यमन्त्री केसीले प्रहरीलाई चर्को दवाव दिएर बुटवल ल्याउन भनेका छन् । त्यतिमात्र होइन वुधबार विहान मुख्यमन्त्री केसीले नै विमलालाई निवासमा शरण दिएका थिए ।















प्रतिक्रिया