२९ आश्विन २०८३, बिहिबार

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकै दिन एकै चरणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्नेगरी सरकारलाई मिति प्रस्ताव गर्ने तयारी गरेको छ ।

आयोगले स्थानीय तह निर्वाचनमा देशका विभिन्न स्थानमा भएका घटनाको विश्लेषण गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्ने योजना बनाएको हो ।

आयोगका एक आयुक्तले भने, ‘निर्वाचन एकै चरणमा गर्न आयोग तयार छ, हामी दुई चरणमा जाँदै जाँदैनौं, स्थानीय तहको निर्वाचनमा केही स्थानमा भएका घटनाको विश्लेषणपछि आयोग प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने भन्ने निष्कर्षमा पुगेको हो ।’

आयोगले आन्तरिक रूपमा दुई चरणमा निर्वाचन गर्दा २७ कात्तिक र ३ मंसिरको मिति’ छलफल गरेको थियो । तर, एकै चरणमा गर्ने अवस्थामा २७ कात्तिकमा नै गर्न सकिने अयोगको बुझाइ छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि एकै चरणमा निर्वाचन गर्ने पक्षमा छन् भने सत्तारूढ गठवन्धनमा पनि एकै चरणमा निर्वाचन गर्ने विषयमा अनौपचारिक छलफल भइसकेको छ ।

तर, प्रधानमन्त्री देउवाले निर्वाचनका विषयमा आयोगसँग औपचारिक छलफल भने गरेका छैनन्, आजको राजधानी दैनिकमा महेश्वर गौतमले समाचार लेखेका छन् ।