२९ आश्विन २०८३, बिहिबार

सिसडोलस्थित ल्यान्डफिल साइटमा मिथेन ग्यास विस्फोट हुन सक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । ल्यान्डफिल साइटमा मिथेन ग्यासको व्यवस्थापन गर्न नसके जुनसुकै बेला विस्फोट हुनसक्ने सम्भावना रहेको छ ।

चार दिनअघि सिसडोल ल्यान्डफिल साइटको दुर्गन्ध मापन गर्न पुगेको नास्टका वैज्ञानिकहरूको टोलीले काठमाडौं महानगरपालिकालाई दिएको रिपोर्टमा सो सम्भावना रहेको उल्लेख छ ।

वैज्ञानिक डा. भोजराज पन्तको टोलीले तयार गरेको रिपोर्टमा सिसडोल ल्यान्डफिल साइटको दक्षिण क्षेत्रबाहेक सबै क्षेत्रबाट ग्यास बाहिरिन नसकेको कारण विस्फोट भएर आगलागी हुने सम्भावना रहेको उल्लेख छ । फोहोर व्यववस्थापन गर्न नसक्दा फोहोर गुम्सेर बनेको मिथेन ग्यास खतरनाक बनेको हो ।

ग्यास बाहिरिन पाइप (भेन्स) राख्नुपर्नेमा अधिकांश क्षेत्रमा सो पाइप नराखेको देखिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोरको दुर्गन्ध हटाउने उपाय खोज्न र दुर्गन्धको मापन गर्न नास्टलाई आग्रह गरेपछि नास्टको वैज्ञानिक टोली सिसडोल ल्यान्डफिल साइट पुगेको थियो । शनिबार अनुसन्धान गरेर फर्केको टोलीले सोमबार कामपालाई रिपोर्ट बुझाएको थियो ।

रिपोर्टअनुसार तत्काल ग्यास बाहिर जाने व्यवस्था गर्न आग्रह गरिएको छ । त्यस्तै फोहोर विसर्जन गरेपछि सो फोहोरलाई माटोले पुर्नुपर्ने, फोहोरको लेदो (लिचेड) व्यवस्थित गर्नुपर्ने, फोहोर विसर्जन गर्नुअघि केमिकलले स्प्रे गर्नुपर्ने, मिथेन ग्यासको सम्भावित दुर्घटनाबाट जोगिन समुदायलाई सचेत गराउनुपर्ने लगायत सुझाव दिइएको छ, आजको नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले समाचार लेखेका छन् ।