
काठमाडौं, २४ जेठ । ‘आईसी डिजाइनर रनवे ११’ नामक फेसन शो आयोजना हुने भएको छ ।
विगतका वर्षझैं यस वर्ष पनि आईसी कलेजले फेसन शो आयोजना गर्न लागेको हो । शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्नेछ ।
नेक्स्ट मोडल्स नेपालले शोका लागि मोडलको आवेदन समेत खुल्ला गरेको छ । कम्तिमा ५ फिट ६ इन्च उचाई भएका महिला मोडलले आवेदन दिन सक्नेछन् । छनोट आगामी ११ जुन अर्थात् जेठ २८ गते शनिबार हुनेछ ।
फेसन शोमा ६ जना पुरुष र २४ जना महिला गरेर ३० जना मोडलले आईसी कलेजका ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गर्नेछन् । फेसन डिजाइनर नै आईसी कलेजका १९औं ब्याजका पास आउट विद्यार्थी हुन् ।
विगत धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन शो यस वर्ष विगतका भन्दा झन् उत्कृष्ट तरिकाबाट प्रस्तुत गर्ने तयारी भइरहेको म्यानेजमेन्ट जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिईओ रवि धमलाले बताए ।
‘आईसी डिजाइनर रनवे’ को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तराष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।
फेसज शोको लागि अन्तराष्ट्रिय कोरियोग्राफर अभिमन्यु सिंह तोमर समेत नेपाल आउने आयोजकले जनाएको छ ।















प्रतिक्रिया